
सर्लाही, मंसिर १० । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा सञ्चालित क्रसर उद्योगहरु तथा खोलाको अनुगमन गरेको छ ।
बिनादर्ता सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने संघीय सरकारको निर्णय बमोजिम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित सुरक्षा निकायको टोलीले यहाँका क्रसर उद्योगहरुको अनुगमन गरेको हो ।
प्रजिअ पौडेलले माथिल्लो निकायबाट क्रसर उद्योगको तत्कालै अनुगमन गरी अवस्था बुझेर विवरण पेस गर्न र दर्ता बिना सञ्चालित उद्योगलाई बन्द गर्न निर्देशन दिएकाले सक्रिएता बढाएको जानकारी दिनुभयो ।
जिल्ला स्तरीय टोलीले केही साता अघि पनि यहाँका क्रसर उद्योगहरुको अनुगमन गरेको थियो ।
यो पटकको अनुगमन पछि जिल्लामा के कति क्रसर उद्योगहरु छन् र तीमध्ये कुन–कुन कसरी सञ्चालन भइरहेका छन् भन्ने थाहा हुने प्रजिअ पौडेलले बताउनुभयो ।
जिल्लाका अधिकांश क्रसर उद्योगहरु मापदण्ड अनुसार सञ्चालन नभइरहेका र नियमित अनुगमनको पनि अभाव रहेको गुनासो बारम्बार आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्