१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसारलाई रुवाउँदै बिदा भए फुटबलका ‘भगवान’ म्याराडोना : गरियो निजी समारोहमा अन्त्येष्टी


0
Shares

Maradona death argentina

एजेन्सी, मंसिर १२ । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । फुटबल प्रशंसकबीच ‘भगवान’को उपमा पाएका म्याराडोनाको मृत्युको खबरले संसारभरका उनको प्रशंसक दुःखी भएका छन् ।

तर संसारलाई रुवाएर बिदा भएका तिनै सर्वकालीक महान् फुटबलरको पार्थिव शरीर भने एक निजी समारोहकाबीच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टी गरिएको छ ।

शान, मान र आलोचनाबाट उत्तिकै घेरिएका ६० वर्षीय म्याराडोनाको गत बुधबार हृदयघातका कारण मृत्यु भएको थियो । उनको निधनको खबरलाई विश्वभर रहेका उनका फुटबल प्रशंसकहरु पत्याउन सकिरहेका छैनन् र शोकमा डुबेका छन् ।

अर्जेन्टिनी सरकारले देशभर तीन दिने राष्ट्रिय शोक नै घोषणा गरेको छ ।

बिहीबार भएको अन्त्येष्टीमा परिवारका सदस्य, आफन्त र नजिकका साथि गरी करिब दुई दर्जन मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, उनको कफिन लैजादै गर्दा ठूलो संख्यामा उपस्थित भएका प्रशंसकहरुले अश्रुपूर्ण आँखाका साथ अन्तिम बिदाई गरेका थिए । आँशु चुहाउँदै अधिकांश प्रशंसकहरु म्याराडोनाको कफिनतर्फ चुम्बन गर्दै गरेका दृष्य देखिन्थे ।

मुलुकलाई विश्वकपको ताज पहिर्‍याउने राष्ट्रिय हिरो म्याराडोनाका निधनमा अर्जेन्टिनीहरु कल्पनै गर्न नसकिने शोकमा डुबेका छन् ।

म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसको भिड अत्याधिक हुँदा प्रहरीले अश्रु ग्यास र रबर बुलेट समेत प्रहार गर्नु परेको छ ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घरमा म्याराडोनाको पार्थिव शरीर गाडिएको छ ।

दुई हप्ताअघि मात्र मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएका उनको अन्ततः घरमै रहेका बेला हृदयघातबाट निधन भएको हो ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका म्याराडोनाले त्यतिबेला गरेको गोल विश्व चर्चित भएको थियो । सो विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गरेको गोल निकै चर्चित थियो भने उक्त गोललाई म्याराडोनले भगवानको हातले गरेको गोल भनेका थिए ।

आफ्नै देशको बोका जुनियर, इटालीको नापोली र स्पेनको बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका म्याराडोना आफ्नो खेल जीवनको उत्कर्षमा रहेकै बेला लागुपदार्थको कूलतमा फसेर ध्वस्त बनेका थिए ।

अन्ततः तिनै सर्वकालीक महान् खेलाडी डिएगो म्याराडोना संसारलाई रुवाउँदै इतिहासको पन्नामा सुरक्षित बनेका छन् ।