
काठमाडौं, मंसिर १२ । सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँबानेश्वरमा काठमाडौंमा भएको संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रममा सापकोटाले प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने बताउनुभयो ।
हामी चुनौती र अवसरको बीचमा छौं भन्दै उहाँले संघीयताको औचित्य पुष्टि गर्ने काम हाम्रै भएकोमा जोड दिनुभयो ।
संसदका समितिहरु बढी सक्रिय हुनुपर्ने भन्दै उहाँले संसद अधिवेशन नचलेको अवस्थामा समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन बनाउन सकिने बताउनुभयो ।
संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने सुझाव पनि दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ लाई देखाएर अब संसदका गतिविधि रोक्न नहुने बताउनुुभयो । उहाँले स्वास्थ्य मापदण्ड र अनुशासनको पालनागर्दै संसद लगायत सबै गतिविधि निरन्तर गर्नुपर्ने उल्लेख गर्नुभयो ।
लामो समय बन्दाबन्दी हुँदा आर्थिक गतिविधि प्रभावित भएकाले लकडाउन खुल्ला भएको बताउँदै उहाँले कोभिड नियन्त्रणमा सबैको भूमिका आवश्यक पर्ने बताउनुभयो ।
उच्च स्वास्थ्य सतर्कता अपनाउँदै संघीय संसदको हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै उहाँले संघले बनाउनु पर्ने कानुन नबन्दा प्रदेशले र प्रदेशले बनाउनुपर्ने कानुन नबनाउँदा स्थानीय तहहरु समस्यामा परेको उल्लेख गर्नुभयो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आह्वानको तयारी भइरहेको जानकारी दिँदै संसदले हालसम्मका कार्यमा कति प्रगति भयो समीक्षा गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्