१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कानून निर्माणमा राजनीतिक दलमा प्रशिक्षणको कमी : सभामुख सापकोटा


0
Shares

काठमाडौं, मंसिर १२ । सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताउनु भएको छ ।

जनमुखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो धारणा राख्नुभएको हो ।

सभामुख सापकोटाले राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको बताउनुभयो ।

त्यसैले पार्टीहरुले सांसदहरुलाई राम्रो प्रशिक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले दलहरुमा प्रशिक्षणको कमी भएको एवं विज्ञताको कमी रहेको बताउनुभयो ।

हामी सबै सांसदहरुमा विज्ञताको तागत नहुँदा बाहिरबाट ल्याएका विज्ञहरुको भर पर्नुपरेको सापकोटाले जिकिर गर्नुभयो ।

हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले मात्रै जनमुखि विधेयकहरु बनाउन सक्ने भन्दै उहाँले यसमा बढी ध्यान दिनुपर्ने बताउनुभयो ।

अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमाथि रहेको समेत सभामुख सापकोटाले बताउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघबाट बन्नुपर्ने कतिपय ऐन कानूनहरु नबन्दा प्रदेश सरकार र स्थानीय तहलाई काम गर्न अप्ठेरो परेको बताउनुभयो ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आएको बताउनुभयो ।

उहाँले कति गते बोलाउने भन्ने टुंगो नलागेपनि नियमित अधिवेशन सुरु हुने बताउनुभयो ।

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले विकासलाई आत्मसाथ गर्दै जानुपर्ने बेला आएको पनि बताउनुभयो ।