
काठमाडौं, मंसिर १२ । झन्डै एक वर्षदेखि सीमा विवादका कारण हुन नसकेको कूटनीतिक संवादहीनतालाई तोड्दै भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगला शुक्रबार नेपालको दुई दिने भ्रमण पूरा गरेर स्वदेश फर्कनु भएको छ ।
दुई मुलुक कूटनीतिक संवादको बाटो खोल्दै विदेश सचिव श्रृंगलाले नेपाल–भारतबीच रहेको सीमा समस्यालाई कूटनीतिक संवादमार्फत समाधान गर्ने पनि पार्नुभएको छ ।
उहाँले बिहीबार समकक्षी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँगको द्विपक्षीय वार्ता गर्नुभएको थियो ।
लगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेसका नेताहरु र शुक्रबार बिहान मधेसका नेताहरुसँगको भेटवार्तामा भारतले पनि नेपालले जस्तै वार्तामार्फत नै समस्याको समाधान खोजेको सन्देश दिनुभयो ।
सचिव श्रृंगलाले आगामी दिनमा नेपाल र भारत बीचमा कूटनीतिक संवाद हुने पनि संकेत गर्नुभयो ।
दिल्ली फर्कनुअघि उहाँले शुक्रबारै गोरखामा भारतको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका घरहरुको अवलोकन गर्नुका साथै स्कुल भवनको पनि उद्घाटन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्