
बैतडी, मंसिर १४ । बैतडीमा किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित थप ४ जना पक्राउ परेका छन् ।
आइतबार पक्राउ पर्नेमा सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित थप ४ जना रहेका प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रणमा लिएको थियो ।
यो संगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।
पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि जिल्ला अदालत बैतडीबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।
बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेको प्रहरीले जनाएको छ ।
उनी पहिला नै भारत भागीसकेको पनि प्रहरीले जनाएको छ ।
सिगास गाउँपालिका ३ की १८ बर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो ।
तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो ।
पीडित पक्षलाई सुन नदिएपछि यो घटना बाहिर आएको हो ।
प्रतिक्रिया दिनुहोस्