
काठमाडौं, मंसिर १७ । काठमाडौं उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले बुधबारदेखि साधारण शेयर बिक्री गर्न थालेको छ ।
वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै सो कम्पनीले साधारण शेयर बिक्री गरेको हो ।
कम्पनीले स्थानीय आयोजना प्रभावितलाई बुधबारदेखि साधारण शेयर बिक्री गर्न थालेको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावितलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।
पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ ।
कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर रु. १०० का दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ ।
आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका– ३,४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३,४,५,६,७,८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ र १० छन् ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ ।
यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ ।
कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ ।
धितोपत्र बोर्डबाट कम्पनीले रु १८ करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ ।
साधारण शेयर बिक्री पछि कम्पनीको कूल चुक्तापूँजी रु एक अर्ब ५३ करोड पुग्नेछ ।
कम्पनीमा ८८५ जनाको संस्थापक लगानी छ । रासस
प्रतिक्रिया दिनुहोस्