३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


बीपी प्रतिष्ठानका उपकुलपति रौनियारविरुद्ध १ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर


0
Shares

काठमाडौं, साउन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध विशेष अदालतमा १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घुस लिँदालिँदै अख्तियारले रंगेहात पक्राउ गरेका रौनियारविरुद्ध घुस लिएको अडियोसहितको उजुरी पनि परेको थियो । उक्त उजुरी पनि अनुसन्धानले पुष्टि भएपछि डा. रौनियारविरुद्ध अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उनका भतिजाविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

प्रतिष्ठानको होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा  दायर  गरिएको अख्तियारले जनाएको हो ।

होस्टल र फार्मेसी भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रर्याक्टर गिना कन्ष्ट्रक्सन कम्‍पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्‍न मितिमा रनिङ बिलको भुक्तानी दिँदा कमिसनवापत घुस लिएको अडियोसहित अख्तियारमा उजुरी परेको थियो ।

त्यस्तै उक्त भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि ठेकदार कम्पनीका झालाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको उजुरी सूचना पाएपछि गएको अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियारलाई घुससहित पक्रेको थियो ।

उपकुलपति रौनियारविरुद्ध १ करोड २८ लाख बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उनका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।