
बाह्रबिसे, मंसिर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेललाई प्रहरीले गरेको दमन विरुद्ध सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रदर्शन भएको छ ।
पौडेललाई प्रहरीले गरेको दमन विरुद्ध नेपाली कांग्रेस र यसका भातृसंस्थाले बिहीबार साँझ बाह्बिसेमा राँके जुलुस गरेका हुन् ।
नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक र काँग्रेस क्षेत्र नम्बर १ ले बाह्रबिसेमा राँके जुलुस निकालेको नेविसंघका उपाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
राँके जुलुसमा प्रहरी हस्तक्षेप समेत भएको उहाँले बताउनुभयो ।
‘हामी राँको लिएर प्रदर्शन गर्दै थियौं उपाध्यक्ष श्रेष्ठले भन्नुभयोे, प्रहरीहरु आएर राँको खोसेर फ्याकिदिए ।’
राँको फ्याकेपनि अन्य अप्रिय घटना नभएको उहाँले जानकारी दिनुभयो ।
राँके जुलुसपश्चात बाह्रबिसे बजारमा कोण सभा भएको थियो ।
कोण सभालाई क्षेत्रीय उपसभापति राम कुमार लामा, स्थानीय कांग्रेस युवा नेता युधिर पौडेल, विद्यार्थी नेता हेमन्त श्रेष्ठ, तरुण नेता निरन्जन लामालगायतले सम्बोधन गरेका छन् ।
कोण सभालाई सम्बोधन गर्दै युवा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले रामचन्द्र पौडेलसँग माफी माग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘बुधबार तनहुँमा भएको घटना सत्ता र शक्तिको दम्भमा भएको हो, सत्ताको नेतृत्व केपी शर्मा ओलीले गरेका कारण उनले माफी माग्नुपर्छ ।’
बुधबार गृह जिल्लामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई नेकपा कार्यकर्ताले अवरोध गरेका थिए ।
भडपको स्थिति आउने भन्दै प्रहरीले पौडेललाई अमर्यादित ढंगले नियन्त्रणमा लिएको थियो ।
त्यसको विरोधमा बिहीबार देशभर विभिन्न प्रदर्शन भैरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्