
काठमाडौं, साउन २० । सुनको भाउ फेरि बढेको छ । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रममा ईतिहासकै उच्च मूल्यमा कारोबार हुँदैछ ।
नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । आइतबार पनि रेकर्ड मुल्य मै अर्थात् ६६ हजार ३ सयमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ । यो मुल्य सबैभन्दा उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । पछिल्ला केहि सातायता सुनको भाउ लगातार बढिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दा त्यसको असर नेपाली बजारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
अमेरिका–इरानबीचको बढ्दो तनाव तथा अमेरिका–चीन व्यापार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बताइएको छ । अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछि त्यसको असर पनि सुनको मूल्यमा परेको बताइएको छ ।
यता भाउ बढेर आकाशिएपछि त्यसको असर सुन बजारमा परेको छ । अहिले किन्नेभन्दा पुराना सुन बिक्री गर्नेहरु बढेको व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्