३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य


0
Shares

अपडेटः

काठमाडौं, साउन २० । झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ ।

विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसदको गतिरोध अन्त्य भएको हो ।

संसद सुचारु गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच संसदको गतिरोध अन्त्य गर्ने र पुनः यस किसिमको गतिरोधको अवस्था उत्पन्न हुन नदिन विशेष समिति गठन गर्ने सहमति भएपछि झन्डै एक महिना लामो गतिरोध अन्त्य भएको हो ।

सर्वदलीय बैठकको सहमतिअनुसार अध्ययन तथा सुझाव संसदीय विशेष समितिको संयोजकमा सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका छन् ।

सदस्यहरुमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, सांसद विन्दा पाण्डे, प्रतिपक्ष दल कांग्रेसको तर्फबाट संसदीय दलका सचेतक पुष्पा भुसाल र सांसद मीनेन्द्रप्रसाद रिजाल, राजपाको तर्फबाट संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका तर्फबाट सांसद उमाशंकर अरगरिया रहेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख महराले विशेष समितिमा रहने सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । बैठकबाट प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरिएको हो ।

सर्लाहीमा गएको असार ५ र १४ गते भएका घटनाको छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गर्न माग गर्दै विपक्षी दल कांग्रेस र राजपाले संसद अवरोध गर्दै आएका थिए । तर, विपक्षी दल उक्त मागबाट पछि हटेको छ ।