
एजेन्सी, मंसिर २१ । हालैसम्पन्न अमेरिकी निर्वाचनमा पराजीत रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले विजयी जो बाइडनको परिणाम उल्ट्याउन जर्जियाका गभर्नरलाई दबाब दिनुभएको छ ।
जर्जियाका रिपब्लिकन गभर्नर ब्रियन केम्पलाई परिणाम उल्ट्याउन र हस्ताक्षर नगर्न भन्दै ट्रम्पले अनेकौं पटक ट्वीट गर्नुभएको हो ।
ट्रम्पले निर्वाचन परिणामलाई स्वीकृति दिनेभन्दा तत्काल राज्यको संसद बैठक बोलाएर छलफल गराउन दबाब दिनुभएको हो ।
जर्जियाका सिनेटका लागि दोहोर्याएर हुन लागेको चुनावी सभालाई सम्बोधन गरेलगत्तै ट्रम्पले यस्तो दबाब दिनुभएको हो ।
हस्ताक्षर परीक्षण गर्न गभर्नर र राज्यका सचिवले अनुमति दिए मात्र पनि सजिलै र चाँडै आफ्ना पक्षमा परिणाम उल्टने भन्दै ट्रम्पले यी दुई रिपब्लिकनले किन यसो गर्न मानिरहेका छैनन् भन्ने आरोप लगाउनुभएको छ ।
ट्रम्पले अझै पनि निर्वाचनमा पराजय स्वीकार्नुभएको छैन भने बाइडनले धाँधली गरेर चुनाव परिणाम आफ्नो पक्षमा पारेको आरोप लगाइरहनुभएको छ । चुनावी वैधतालाई चुनौति दिन अदालत पुगेपनि प्रायः सबैजसो स्थानबाट उहाँलाई निराशा हात लागेको छ ।
जर्जिया मुख्य संग्रामीमैदान मानिएको थियो र त्यहाँ बाइडनले साँघुरो अन्तरले परिणाम आफ्नो पक्षमा पार्नुभएको छ । सन् १९९२ पछि पहिलो पटक डेमोक्र्याटले जर्जियाको परिणाम आफ्नो पक्षमा पारेको हो ।
अब आएर सिनेट कस्को नियन्त्रणमा हुने भन्ने पनि जर्जियामा जनवरीमा दोहोर्याएर हुन लागेको निर्वाचनमा भर पर्न लागेको छ । डेमोक्र्याटले परिणाम आफ्नो पक्षमा पारेमा सिनेटमा पनि बहुमत हुनेछ र रिपब्लिकनले नियन्त्रण गुमाउने छन् ।
प्रतिक्रिया दिनुहोस्