
कर्णाली, मंसिर २१ । सुर्खेतबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र वितरण शुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो परिचयपत्रमा नाम समावेश गरेर सेवाको शुभारम्भ गर्नुभयो ।
विद्युतीय प्रणालीबाट तथ्याङ्क तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यसको शुरुवात गरेको हो ।
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पद्मलाल लामिछानेले सुर्खेतमा पहिलो पटक लागू भएको राष्ट्रिय परिचय नम्बरसहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्रको सेवा शुरु गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटनाहरु जन्म, मृत्यु, बसाइसराइ, विवाह, सम्बन्धविच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापनलगायत पञ्जीकरणसम्बन्धी कार्य गर्न थप सहज हुने उहाँको भनाइ छ ।
“राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरी नागरिकका सूचना वा विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा समावेश गर्नमा मद्दत पुग्नेछ”,
प्रशासकीय अधिकृत लामिछानेले भन्नुभयो, “यसबाट प्राप्त तथ्याङ्क÷अभिलेखलाई नीति तथा योजना निर्माणमा प्रयोग गर्न सकिन्छ ।”
प्रतिक्रिया दिनुहोस्