
मोरङ, मंसिर २६ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउन संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्रेको छ ।
पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका–८ बस्ने ५३ वर्षीय मथालु खवास रहेका छन् ।
२०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका–५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका–८ बस्ने ३२ वर्षीय सुरेश कुमार खवासले ती युवतीलाई एक्लै पारी जबरजस्ती करणी गरेका थिए ।
त्यसै बेलादेखि फरार रहेका अभियुक्त सुरेशलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मङ्सिर १९ गते रंगेली नगरपालिका–७ रंगेली बजारबाट पक्रेको हो ।
थप अनुसन्धान गर्ने क्रममा उक्त घटना गाउँघरमा पीडित पक्षलाई उक्त नगद दिई मिलापत्र गराएको खुलेपछि उनीहरुलाई मिलापत्र कागजसहित आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता, पाल्पामा २० वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारीका ४५ वर्षीय गंगाबहादुर नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्रेको छ ।
गंगाले मादक पदार्थ सेवन गरी ती किशोरीलाई बुधबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्