
एजेन्सी, मंसिर २७ । अमेरिकामा पनि कोरोना भाइरसविरुद्ध फाइजर–बायो टेक कम्पनीको खोपले आम सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाएको छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अमेरिकी समयअनुसार शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको हो ।
फक्स न्यूजका अनुसार पहिलो चरणमा यो खोप अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र जोखिमयुक्त क्षेत्रम काम गर्नेहरुलाई दिइनेछ ।
आउँदो हप्ताबाट खोप शुरु गरिने अपेक्षा गरिएको संघीय अधिकारीले बताएका छन् । यसरी फाइजरको खोपलाई औपचारिक रुपमा अनुमति दिने अमेरिका चौथो राष्ट्र बनेको छ ।
यसअघि बेलायत, बहराइन र क्यानडाले आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेका थिए ।
शनिबारसम्ममा अनुमति मिल्ने अनुमान गरिए पनि ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोसले शुक्रबारसम्म अनुमति नदिए एफडिएका कमिशनर स्टेफन हानलाई राजीनामा दिन दबाब दिएका थिए ।
अमेरिका कोभिड–१९ बाट सबैभन्दा बढी मानवीय क्षति ब्यहोर्ने राष्ट्र हो । जहाँ अहिलेसम्म तीन लाख व्यक्तिको मृत्यु भइसकेको छ भने एक करोड ६३ लाख व्यक्ति संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्