
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको शालीनतालाई वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने चेतावनी दिनुभएको छ ।
मंसिर २९ गते सोमबार हुने देशव्यापी प्रदर्शनमा सचेततापूर्वक सहभागि हुन आम जनमानसका नाममा एक अपील जारी गर्दै सभापति देउवाले सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेकाले सडकमा उत्रन परेको पनि प्रष्ट्याउनु भएको छ ।
देउवाले भन्नुभएको छ, ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।’
अब सडकदेखि सदनसम्म सरकारमाथि दबाब बढाउने भन्दै देउवाले भन्नुभएको छ, ‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’
कोरोना जस्तो महामारीको स्वास्थ्य सामग्री खरिदमासमेत सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै देउवाले भन्नुभएको छ, ‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरुमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?’
महिला हिंसाप्रति सरकार पटक्कै संवेदनशील नभएकोमा उहाँले भन्नुभएको छ, ‘महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’, देउवाले प्रश्न गरेक छन् ।
देशव्यापी प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी अनिवार्य
यसैगरी, सभापति देउवाले देशव्यापी प्रदर्शनमा सहभागि हुँदा कोरोना कहरलाई ख्याल गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गर्नुभएको छ ।
सभापति देउवाले प्रदर्शनको तयारीमा जुटेका सबै तहका नेता कार्यकर्तालाई थप जागरुक र एकता साथ प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन अपीलमार्फत् आग्रह गर्नुभएको हो ।
मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल काँग्रेस भएको भन्दै देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताउनुभएको छ ।
सोमबारको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्