२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सत्ताको लाचार छायाँ झै बनेको कांग्रेसले सोमबार कस्तो गर्ला हूँकार ?


0
Shares

काठमाडौं, मंसिर २८ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी एवं वर्तमानमा संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

उसले पार्टी सभापतिदेखि वर्तमान र पूर्व पदाधिकारीहरुलाई विभिन्न जिल्लाको नेतृत्व गर्नका लागि खटाएको छ ।

२०७४ सालमा सम्पन्न आमनिर्वाचन यता सत्ताको लाचार छायाँका रुपमा आफ्नो परिचय बनाएको कांग्रेसले पहिलो पटक देशव्यापी प्रदर्शन लागेको हो ।

सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस पहिलो पटक सडकमा उत्रन लागेको हो ।

तीन वर्षअघि सम्पन्न निर्वाचनमा नराम्ररी पछारिएपछि होश हवास गुमझै भएको कांग्रेस बल्ल प्रतिपक्षीको भूमिकामा देखिन लागेको हो ।

निर्वाचनमा भएको हारमा एकार्कामै दोषारोपण गरेर आन्तरिक किचलोमा फसेको कांग्रेस हालै वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पुल उदघाटनका क्रममा प्रहरीले दुव्र्यवहार गर्दै हिरासतमा लिएपछि सडक प्रदर्शनमा ओर्लेको हो ।

देशमा बढेको भ्रष्टाचार, कोरोना भाइरस नियन्त्रणका नाममा भएको ब्रह्मलूट, संविधानको भावनाविपरित ऐन कानून बनाइँदासमेत दूधको साक्षी बिरालो भएको भन्दै काग्रेसको आलोचना भएका बेला कांग्रेस सडकमा उत्रन लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो सांकेतिक प्रदर्शन भएको र देशभरबाट लाखौं मानिसले वर्तमान सरकारको रवैया र बेथितिविरुद्ध एकसाथ शंखघोष गर्ने बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार सभापति शेरबहादुर देउवा र शर्मा मकवानपुरमा आयोजित कार्यक्रममा सहभागि हुनुहुनेछ ।

नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा उपसभापति विमलेन्द्र निधिले भक्तपुरको सभालाई सम्बोधन गर्नुहुनेछ ।

महामन्त्री डा. शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अरु केन्द्रीय सदस्यहरू पनि विभिन्न जिल्लाका कार्यक्रममा सामेल हुनेछन् ।

सरकार भ्रष्टाचारमा डुबेको, सर्वसत्तावादतर्फ अगाडि बढेकाले यो सजकता आन्दोलन गर्नुपरेको कांग्रेस नेताहरुको भनाइ छ ।

भ्रष्टाचारविरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले समेत ओली सरकार भ्रष्टाचारमा डुबेको र एशियन भ्रष्टाचार ब्यारोमिटरमा नेपालको स्थिति दयनीय बनाएपछि प्रतिपक्षी कांग्रेसले यस मुद्दालाई उचालेको छ । सरकारले प्रतिवेदनलाई खारेज गरेको छ ।

कांग्रेसले वाइडबडी जहाज खरिद, स्वास्थ्य सामाग्री खरिद, यती समूहलाई नेपाल ट्रष्टको जग्गा दिने र तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुस बार्गेनिङ प्रकरणलाई देशव्यापीकरण गर्दैछ ।

कांग्रेसले प्रधानमन्त्री केपी ओलीमाथि भ्रष्टाचारलाई प्रश्रय दिएको, आरोपीहरुलाई अनुसन्धानसमेत गर्न नदिएको र ढाकछोप गरेको लगायतका आरोप लगाएको छ ।