
काठमाडौं, मंसिर २८ । अमेरिकामा सोमबार (आज) देखि कोरोना भाइरसविरुद्धको खोप लगाइदै छ ।
सोमबार अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।
फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएलगत्तै अमेरिकाले सोमबारदेखि जोखिम क्षेत्रका व्यक्तिहरुलाई खोप लगाउन लागेको हो ।
पको पहिलो तीस लाख डोज सबै राज्यहरुमा लगिँदैछ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।
अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ ।
फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्ने योजना बनाएको छ । कोभिडसँग प्रतिरक्षाका लागि यो खोप दुई डोज लगाउनुपर्ने हुन्छ । पहिलो खोप लगाएको तेस्रो हप्ता अर्थात् २१ दिनका दिन दोस्रो खोप लगाउनुपर्ने हुन्छ ।
पहिलो चरणको खोपले ३३ करोड जनसंख्या भएको अमेरिकाका करिब ३० लाख जनालाई पुग्ने भएकाले पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरुले मात्र पाउने छन् ।
शुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकलाई खोप दिने तयारी गरिएको छ ।
फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया, बहराइनले अनुमति दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्