१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना


0
Shares

वाग्मती, मंसिर २९ । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ ।

प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा सोमबार आयोजित एक कार्यक्रमकाबीच उद्घाटन गरियो ।

कार्यालयको उद्घाटन वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वार फुयाँलले गर्नुभयो ।

उद्घाटन कार्यक्रममा मन्त्री फुयाँलले वाग्मती प्रदेश सरकारले वि.सं २०८५ वैशाखसम्म खनिज इन्धनजन्य यातायातका सवारी साधनलाइ विस्थापित गरी प्रदूषणरहित तथा नीकरणीय ऊर्जामा आधारित यातायात सेवा सञ्चालनमा ल्याउने योजना अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले सबै स्थानीय तहसँग सहकार्य गरी आवश्यक स्थानमा पुनरभरण केन्द्र (चार्जिङ स्टेसन), रिफ्रेस सेन्टर र व्यवस्थित बसपार्क स्थापना गरी विद्युतीय र नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने बसको उचित व्यस्थापन गरिने जानकारी दिनुभयो ।

पहिलो चरणमा काठमाडौंको रिङ्रोडका साथै काठमाडौं–मकवानपुर सडकखण्डलाई प्राथमिकतामा राखी विद्युतीय बस सेवा सञ्चालनको योजना अघि बढाउने मन्त्री फुयाँलले जानकारी दिनुभयो ।

सोही अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव एवं प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड सञ्चालन समितिका अध्यक्ष सञ्जिव बरालले यातायात क्षेत्रलाई अब प्रदेश सरकारमार्फत सञ्चालन गर्ने अवधारणाअनुरुप बोर्ड गठन गरिएको बताउनुभयो ।

उहाँले हाल सञ्चालन भइरहेको यातायात प्रणालीलाई व्यवस्थापन गर्न नसकिएको अवस्थामा बोर्डले त्यसको सहज व्यवस्थापन गर्ने धारणा राख्नुभयो ।

उहाँले निश्चित समयभित्र खनिज इन्धनबाट चल्ने सवारीलाई विस्थापित गर्दै विद्युतीय सवारीलाई प्राथमिकता दिने प्रदेश सरकारको दीर्घकालीन लक्ष्यलाई क्रमशः कार्यान्वयन गर्दै सफल बनाउन बोर्डले भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका नवनियुक्त निमित्त कार्यकारी निर्देशक डा. सहदेवबहादुर भण्डारीले प्रदेशमा सञ्चालन हुने यातायातलाई व्यवस्थित गर्न बोर्ड गठन गरिएको बताउनुभयो ।

उहाँले बोर्डमा विभिन्न तहमा गरी १७ जना जनशक्ति परिचालन हुने जानकारी दिनुभयो ।

भण्डारीले बोर्डले यातायातको व्यवस्थापन गर्ने तथा विशेषगरी विद्युतीय सवारी सञ्चालनलाई प्राथमिकता दिने बताउनुभयो ।

प्रदेश सरकारले प्रदेशभरी विभिन्न सडक रुटमा ३० भन्दाबढी बिद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएको छ ।