
काठमाडौं, मंसिर ३० । संवैधानिक परिषदको बैठक आज विहानका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो ।
यसअघि आइतबारका लागि बैठक बोलाइए पनि नेपाली कांग्रेसको देशव्यापी प्रदर्शनका कारण दलका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले उपस्थित हुन नसक्ने जनाएपछि बैठक स्थगित भएको थियो ।
बैठकमा सभामुख अग्नि सापकोटा पनि नगएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो ।
उता, सत्तारुढ नेकपामा भने प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक गर्न लागेकामा अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाउनुभएको छ ।
पार्टी स्थायी कमिटी बैठक बसिरहेका समयमा पार्टीसँग कुनै सल्लाह नै नगरी संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति गर्न खोजिएको भन्दै दाहालले आपत्ति जनाउनुभएको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् । ती पदहरुमा संवैधानिक नियुक्ति गर्ने विषयमै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेस सभापति देउवासँग पटक पटक छलफल गरिसक्नुभएको छ ।
पछिल्लो पटक मंसिर २७ मा दुई नेताबीच कुन कुन पद क–कस्ले लिने भन्नेबारेमा समेत छलफल भएको जनाइएको छ ।
सत्तारुढ नेकपामा भने यसअघि मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिश लगायतमा एकलौटी गरेझै यस पटक पनि ओलीले विपक्षी नेतासँग मिलेर एकलौटी गर्न खोजेको आशंका बढेको हो ।
पार्टीको विवाद मत्थर गर्ने प्रयासका लागि स्थायी कमिटीको बैठक चलिरहँदा पार्टीमा सल्लाह नै नगरी लाभका पदमा नियुक्ति गरिए त्यसले थप विवाद चर्किने दाहाल पक्षको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्