१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यादेश प्रकरणः कांग्रेसले बोलायो पदाधिकारी बैठक


0
Shares

congress padadhikari meeting

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषदसम्बन्धि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीकण्ठमा बैठक बोलाइएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

शर्माले जानकारी दिँदै भन्नुभयो, ‘सरकारले हठात् जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न भोलि दिउँसो पदाधिकारी बैठक बोलाइएको छ । बैठकमा पूर्वपदाधिकारी र काठमाडौँमा उपलब्ध शीर्ष नेताहरू पनि सहभागी हुनुहुन्छ ।’

मंगलबार दिउँसो सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

सोही अध्यादेशअनुसार प्रधानमन्त्री ओलीले साँझ परिषद बैठक पनि राख्नुभएको थियो । तर उक्त बैठकमा कांग्रेस सभापति देउवा र सभामुख अग्नि सापकोटा जानुभएन ।

अध्यादेश जारी गरेकामा सभापति देउवासहित कांग्रैसका सबैजसो नेताले प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । उता सत्तारुढ नेकपाका नेताले पनि ओलीको तीब्र आलोचना गरेका छन् ।