१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


‘राष्ट्रिय जलस्रोत नीति’ सार्वजनिक, तीनै तहका सरकारलाई उपयोगी


0
Shares

काठमाडौं, पुस २ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेको छ ।

मन्त्रालयले बिहीबार एक कार्यक्रम गरी एकीकृत जलस्रोत नीति सार्वजनिक गरेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले वृहत अन्तरक्रियाबाट पहिलोपटक राष्ट्रिय जलस्रोत नीति निर्माण गर्न सफल भएको बताउनुभयो ।

उहाँले प्राकृतिक सम्पदालाई कसरी सदुपयोग गर्न सकिन्छ र भोलीको दिनमा कसरी पुस्तान्तरण गर्न सक्छौं भन्ने कुरालाई राष्ट्रिय जलस्रोत नीतिले अवलम्बन गरेको बताउनुभयो ।

मन्त्री पुनले संविधान जारी भएपछि जलस्रोतको उपयोग तीन वटै तहबाट गर्ने संवैधानिक व्यवस्था भए अनुसार नै नीति तयार पारिएको पनि स्पष्ट पार्नुभयो ।

जलस्रोतलाई सिंचाईमा, जलविद्युतमा र पर्यटन पूर्वाधारको रुपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण पनि राष्ट्रिय जलस्रोत नीतिले अवलम्बन गरेको बताउनुभयो ।

राष्ट्रिय जलस्रोत नीतिले जलस्रोतको प्रयोग समान्य अवस्थामा र विशिष्ट अवस्थामा कसरी गर्ने भन्ने सम्बन्धमा समेत निर्देश गरेको मन्त्री पुनले बताउनुभयो ।

बिहीबार सार्वजनिक जलश्रोत नीतिले राष्ट्रिय जल उपयोगको बहुआयामिक आवश्यकताहरुको सहज परिपूर्ति गर्ने, जलस्रोतको बहुआयामिक तथा समन्यायिक विकास र उपायोग गरी राष्ट्रिय उत्पादन वृद्धिमा योगदान पुर्‍याउने, जलस्रोत क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन र नियमन गर्दा अध्ययन, अनुसन्धान तथ्य एवं प्रमाणका आधारमा गर्ने उद्देश्य राखेको छ ।

आर्थिक सामाजिक तथा वातावरणीय पक्षमा पर्नसक्ने नकारात्मक प्रभाव न्यून हुनेगरी जलस्रोतको विकास र उपयोग गर्ने र जलउत्पन्न विपद्को न्यूनीकरण एवं प्रभावकारी व्यवस्थापन गरी क्षति न्यूनीकरण गर्ने उद्देश्य समेत राष्ट्रिय जलस्रोत नीतिले लिएको छ ।

यसबाहेक राष्ट्रिय जलस्रोत नीति ले विभिन्न ११ वटा रणनीतिहरु समेत तय गरेको छ ।

नदी बेसिन गुरुयोजनाको आधारमा जलस्रोतको उपयोग तथा व्यवस्थापन गर्ने, एकीकृत जलस्रोत व्यवस्थापन तथा जलस्रोतको बहुउद्देश्यीय उपयोगलाई प्राथमिकता दिने, जलस्रोत क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन तथा नियमनका लागि उचित संस्थागत व्यवस्था गर्ने, जलस्रोत संरक्षण र विकासमा निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाहरुको सहभागिता अभिवृद्धि गर्ने रणनीति लिएको छ ।

यस्तै जलस्रोत क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने, सम्बन्धित संस्था तथा जनशक्तिको क्षमता विकास गर्ने, संघ, प्रदेश र स्थानीय तहको भूमिका र दायित्व स्पस्ट गरी जलस्रोतको उपयोग गर्ने, जलस्रोत आयोजनाहरुबाट प्रभावित क्षेत्र तथा समुदायहरुको सुरक्षा एवं संरक्षण गर्ने, सामाजिक, सांस्कृतिक एवं वातावरणीय पक्षमा पर्न सक्ने नकारात्मक प्रभाव न्यून हुनेगरी उपयोग गर्ने र जलजन्य विपद्हरुको नियन्त्रण एवं न्यूनीकरण गर्ने रणनीति पनि राष्ट्रिय जलस्रोत नीतिमा समावेश छ ।