
काठमाडौं, पुष ३ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता देखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो ।
समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको र सामानमा गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा यसमा थप छानबिन गर्नुपर्ने निष्कर्ष लेखाको रहेको छ ।
बैठकमा उपस्थित स्वास्थ्यमन्त्री ढकालले भने हाहाकार भएकाले तत्काल सामग्री मगाउनु परेको भन्दै ओम्नी समूहले सामान ल्याउन नसक्नेपछि सम्झौता रद्द गरेर धरौटीसमेत जफत गरेकाले भ्रष्टाचार भयो भन्नु गलत भएको जिकीर गर्नुभयो ।
सदस्यहरु मीनेन्द्र रिजाल, राजन केसी, प्रदीप यादव लगायतले थप छानविनका लागि अख्तियारलाई लेखी पठाउने निर्णय गर्नुपर्ने बताए पनि सांसद प्रेम आलेले भने यो प्रकरणमा राज्यकोषबाट कुनै खर्च नभएको र ठेकेदार कालोसूचीमा परिसकेको अवस्थामा थप कारबाही गर्नु आवश्यक नभएको बताउनुभएको थियो ।
दोषी पत्ता लगाएर कारबाही गर्न अख्तियारलाई निर्देशन दिएलगत्तै ९ महिनादेखि लेखा समितिमा चल्दै आएको स्वास्थ्य सामग्री खरिद प्रकरणको बहस सकिएको छ ।
स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार ओम्नी समूहले १६ गते पहिलो लटमा महँगोमा सामान ल्याए पनि थप सामग्री ल्याउन नसकेपछि १९ चैतमा सम्झौता रद्द गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्