
काठमाडौं, पुष ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत विभाजनतर्फ उन्मुख हुँदा यसका केही नेता कुन पक्षमा लाग्लान् भन्ने खुल्दुली मेटिँदै गएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एकाएक संसद विघटन गरिदिएपछि सत्तारुढ नेकपा दुई चिरामा विभक्त भएको छ ।
ओली नेतृत्वको नेकपा र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नेकपाले आजै अलग अलग स्थानमा केन्द्रीय कमिटी बैठक बलाएकाले पनि नेकपाको विभाजन औपचारिकतातर्फ उन्मुख भएको छ ।
संसद विघटन र अध्यक्ष दाहालको गतिविधि दुबैसँग सहमत नभएका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापाले दुबै जना आजको बैठकमा कतै पनि नजाने बताउनुभएको छ ।
दुबै नेतालाई आफ्नो खेमामा तान्न ओली र दाहाल दुबै जनाले अन्तिमसम्म पनि प्रयास गरिराख्नु भएको छ ।
सोमबार बोलाएको दुबै पक्षका सांसदको भेलामा उनुपस्थित रहनुभएका उहाँहरु केन्द्रीय कमिटीको बैठकमा पनि नजाने बताउनुभएको हो ।
उता अहिलेसम्म कतै नदेखिनु भएका नेकपा नेता हरिबोल गजुरेल अन्ततः प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने र दाहाल पक्षमै लाग्ने बताउनुभएको छ ।
यस्तै, नेताद्वय मणि थापा र टोपबहादुर रायमाझी भने प्रधानमन्त्री ओली पक्षतिर लाग्नुभएको छ । पूर्व माओवादी थापा र रायमाझीले अन्ततः दाहाल शिविर छाड्न लाग्नुभएको हो ।
पूर्वमाओवादीका लेखराज भट्ट यसअघि नै ओलीतिर लागिसक्नु भएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा छ । सम्भवतः आजको केन्द्रीय कमिटी फूटको प्रस्थानविन्दू बन्नेछ ।
प्रधानमन्त्री ओलीलाई सीमित संख्याका पूर्वमाओवादीले साथ दिँदा दाहालको शिविरमा भने पूर्वएमालेका सबैजसो शीर्ष नेता एकत्रित भएका छन् ।
एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल, पूर्वमहासचिव माधव नेपालसहित गौतम पक्षीय नेताहरु पनि दाहाल शिविरमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्