
काठमाडौं, पुस ९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कहिले र कसरी गर्ने भन्ने अन्योल भएको छ ।
कोरोना भाइरसका कारण गत वर्ष विद्यालयलको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिए पनि यो वर्ष कहिले र कसरी गर्ने भन्नेमा राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छैन ।
परीक्षा बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयलाई नै परीक्षाको जिम्मा दिन सकिने प्रस्ताव बोर्डले शिक्षा मन्त्रालयमा पठाएको छ ।
तर, मन्त्रालयले भने अहिलेसम्म कुनै निर्णय दिएको छैन ।
परीक्षा सम्बन्धि कुनै तयारी नभएकाले यो वर्ष चैतमा परीक्षा गर्न नसकिने बोर्डले स्पष्ट पारेको छ ।
अहिलेसम्म कक्षा ९ का लागि रजिष्ट्रेसन फाराम र कक्षा १० का लागि आवेदन फाराम खुला र प्रश्नपत्र तयार गरिसक्नु पर्ने हो तर त्यसको तयारी पनि छैन ।
विगतका वर्षमा पुसमा नै विशेषज्ञले प्रश्नपत्र तयार पारेर छपाइका लागि पठाउने गरिन्थ्यो ।
अहिले प्रश्नपत्र बनाउने कि नबनाउने भन्नेमा बोर्ड नै अलमलमा छ ।
गत वर्ष ३ करोड खर्च गरेर तयार पारिएको प्रश्नपत्र नष्ट गर्नु परेकाले यो वर्ष पनि सोही डरले प्रश्नपत्र तयार गर्न ढिला गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाका तीनवटा विकल्पमा छलफल गरिरहेको जनाएको छ ।
परीक्षा पर सार्ने, विद्यालयलाई नै जिम्मा दिने वा बोर्डबाट गर्ने भन्नेमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्