
काठमाडौं, पुस ९ । प्रतिनिधिसभा विघटनलाई कसरी हेर्ने र विघटन विरुद्ध जाने कि नजाने भन्ने विवादमा फसेको नेपाली कांग्रेसले विघटनको विरोधमा एक दिन देशब्यापी प्रदर्शन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विहिबार बिहान एकलौटी रुपमा विरोधका कार्यक्रम बनाएर कार्यसमिति वैठकमा पेश गरेपछि एक दिन विरोध प्रदर्शन गर्ने निर्णयमा कांग्रेस पुगेको हो ।
बिहीबारको वैठकमा बोल्ने केन्द्रीय सदस्यहरुबीच पनि मत बाझिएको छ ।
बैठकमा बोल्दै कांग्रेस उपसभापति विमलेन्द्र निधीले बर्तमान व्यवस्था बचाउने हो भने निर्वाचनमा जानुको विकल्प नभएको तर्क राख्नुभएको थियो ।
संसद पुनस्थापना हुने संभावना नभएको भन्दै निधिले कांग्रेसले चुनाव वहिष्कार गरे राज्य व्यवस्था परिवर्तनका लागि सडकमा निस्केका शक्तिहरुले चलखेल गर्ने मौका पाउने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यस्तै बैठकमा बोल्दै पूर्व उपसभापति प्रकाशमान सिंहले कांग्रेस तत्काल सडकमा निस्कनुको विकल्प नभएको धारणा राख्नुभयो ।
बैठकमा बोल्दै पूर्व महामन्त्री अर्जुनसिंह केसीले ओली सरकारको कदमको विरुद्धमा सडक संघर्ष अपरिहार्य भएको तर्क राख्नुभयो ।
बैठकको बिचमा सञ्चारकर्मीहरुलाई प्रतिकृया दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पुस १३ गते देशका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोध कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
बुधबारको वैठकमा विघटन विरुद्ध सडकमा जाने नजाने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्