
गृष्मा राजभण्डारी (इमेज)
अपडेटः
काठमाडौं, साउन २९ । नेपाल बाल संगठनका प्रमुख बालकृष्ण डंगोल बालबालिका बेचबिखनको आरोपमा बुधबार पक्राउ परेका छन् ।
उनीविरुद्ध बालमन्दिरमार्फत् विदेशी नागरिकलाई बालबालिका बिक्री गर्ने गरेको आरोप लगाइएको छ ।
१२ दिनको शिशु लिएर बाहिर जान खोज्ने बेलायती महिला डोना स्मिथ अध्यागमन विभागबाट साउन २२ गते पक्राउ परेपछि डंगोललगायतको धन्दाको पर्दाफास भएको हो ।
यही साउन ११ गते कान्ति बाल अस्पतालमा एक अविवाहिता महिलाले जन्माएको शिशु बिक्री गर्न बेलायती महिला स्मिथबाट ८ हजार पाउन्ड स्टर्लिङ डंगोलले माग गरेकामा ती महिलाले नेपाली चार लाख रुपैयाँ डंगोललाई दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यही साउन १२ गते नेपाल आएकी ती बेलायती महिलाले कान्ति बाल अस्पतालबाट शिशु लिएर बेलायती पासपोर्ट बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले हामीलाई जानकारी दिए ।
साथै, गर्भपतन गराउने केन्द्रहरु र डंगोलको समूहबीच साँठगाँठ रहेको र डंगोलको समूहले विदेशी ग्राहक खोज्ने तथा बाल संगठनबाट कागजपत्र बनाउने गरेको पाइएकोसमेत बोगटीले जानकारी दिए ।
उक्त शिशुसहित बेलायत जानेक्रममा अध्यागमन विभागमा शिशुको वर्ण नमिलेका कारण शंका लागी सोधपुछ गर्दा यो रहस्य खुलेको हो ।
डंगोलविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्यादसमेत थप गराएको छ ।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा कारबाही हुने पनि प्रहरीले जनाएको छ ।
बालबालिका बेचबिखन गर्ने ठूलै गिरोह सक्रिय रहेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
विभिन्न कारणले बाबु–आमाबाट बिछोडिएका ९१ जना अनाथ बालबालिका नेपाल बाल संगठनमा आश्रय लिइरहेका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्