
काठमाडौं, पुस ११ । नेपाली कांग्रेसले सोमबार देशका सबै संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनकाविरुद्धमा कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो ।
शनिबार सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन सबैमा अपील गर्नुभएको छ ।
संसद विघटनलाई असंवैधानिक कदमको संज्ञा दिनुभएका देउवाको पार्टीभित्र भने संसद पुनर्स्थापनाका पक्षमा नदेखिएको भन्दै तीब्र आलोचना भइरहेको छ ।
पार्टीभित्र उहाँको कार्यशैलीप्रति आशंका गरिएका बेला देउवाले प्रष्टीकरण दिने शैलीमा भन्नुभएको छ, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु । संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।’
देउवामाथि वरिष्ठ नेता रामचन्द्र पौडेल र उहाँ पक्षीय नेताहरुले संसद विघटनमा ओलीसँग मिलेमतो गरेको आशंका गरेका छन् र नरम शैली अपनायक आरोप लगाउँदै आएका छन् ।
त्यसको प्रभाव कांग्रेस केन्द्रीय समिति बैठकमै पनि परेको छ । देउवा पक्षीय नेताहरु पौडेलमाथि दुर्व्यवहार शैलीमा उत्रिरहेका छन् ।
पौडेल पक्षीय नेताहरु भने प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी संसद विघटन गरेकाले यस असंव्रधानिक कदमवरुद्ध निर्णायक कदम चाल्नुपर्ने पक्षमा रहेका छन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्ने सिफारिश गर्नुभएकामा राष्ट्रपति भण्डारीले तत्कालै स्वीकृत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्