
काठमाडौं, पुस १२ । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ ।
यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो ।
मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ ।
मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ ।
नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ ।
“बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल आइपुग्छ”, उहाँले भन्नुभयो ।
प्रति मेट्रिक टन २५९।१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बङ्गलादेशसँग प्रति मेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ ।
जीटूजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।
मन्त्रालयको निर्देशनअुनसार कृषि सामग्री कम्पनीले मल खरिदको तयारी गरेको थियो ।
तयारी स्वरुप यही पुस २ गते जीटुजी प्रक्रियामार्फत मल खरिदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।
कृषि सामग्री कम्पनीले यसअघि नै मल ढुवानीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफसँग सम्झौता गरिसकेको छ ।
उक्त कम्पनीले रेलमार्गबाट वीरगञ्ज, विराटनगर र भैरहवामा मल ल्याउनेछ ।
बङ्गलादेशबाट मल आएपछि आगामी दिनमा मलको अभाव नहुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्