
काठमाडौं, पुस १३ । कोरोना (कोभिड–१९) को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ ।
गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ ।
निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार रु १३ अर्ब नाफा कमाएको छ ।
पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा रु. १२ अर्ब ८७ करोड नाफा कमाएको हो ।
प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दामी बढेपछि निगमको नाफामा वृद्धि भएको हो ।
ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष २०७६/७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ ।
कुन वर्ष कति नाफा
लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो ।
निगमले गत आव २०७२/७३ मा रु. १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा रु. ९ अर्ब ४५ करोड, २०७४/७५ मा रु. तीन अर्ब ५८ करोड, २०७५/७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा रु. १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।
निगमले आव २०७५/७६ मा रु. २९ करोड रहेको चुक्ता पूँजीलाई रु. दश अर्ब पूँजी वृद्धि गरेर रु. एघार अर्ब पुर्याएको थियो ।
आव ०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
आव २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो ।
इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।
दश महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा रु. एक अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ ।
साथै गत वर्षको नाफा रकमको बैक ब्याजबाट मात्र रु. एक अर्ब ७७ करोड आम्दानी भएको निगमको जनाएको छ ।
आव २०७०/७१ मा प्रतिलिटर रु. १३४ रहेको पेट्रोलको मूल्य आव ०७६/७७ को असार मासान्तसम्म घटेर रु. एक सय २ मा झरेको थियो ।
यस्तै सोही अवधिमा रु. एक सय ५ रहेको डिजेलको मूल्य घटेर रु. ८८ मा झरेको थियो ।
निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार इन्धनमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गदै आएको छ ।
निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्य अनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।
निगममा सरकारको ९९ प्रतिशत शेयर लगानी रहेको छ ।
यसमा अर्थ, उद्योग वाणिज्य आपूर्तिमन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको शेयर रहेको छ ।
सरकारलाई सबै भन्दा धेरै राजश्व बुझाउनेमा अग्रस्थानमा रहेको निगमले गत आवमा इन्धनको कारोवार गरेर सरकारलाई रु. ६६ अर्ब ८८ करोड राजश्व बझुाएको जनाएको छ ।
गत वर्ष निगमले रु. दुई खर्ब ५ अर्ब बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो ।
यो अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो ।
निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउँदै आएकोमध्ये सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा रु. चार अर्ब ९९ करोड पुगेको छ ।
यस्तै प्रदूषण करबाट रु .दुई अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट रु. १३ अर्ब ९८ करोड जम्मा भएको छ ।
निगमले अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य सामायोजन गदै आए पनि सीमानाका भन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ ।
सीमा नाका भन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजेल रु. ३७ रुपैयाँ २६ पैसा नाफा रहेको छ ।
हाल पेट्रोल प्रतिलिटर रु. १०६ र डिजेलको रु. ८९ मूल्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्