
काठमाडौं, पुस १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले नेपाली राजनीतिमा कलंकको टीका लगाएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा जनसांस्कृतिक महासंघको कार्यक्रममा दाहालले ओली कलंकको टीका लगाएकैले आफूहरुलाई जनताका बीचमा जाने अवस्था बनाएको बताउनुभयो ।
सनकका भरमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसकोस् भनेरै संविधान बनाउँदा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको जिकीर उहाँले गर्नुभयो ।
संविधान बनाउँदा नै नराखिएको व्यवस्थाप्रति प्रधानमन्त्री ओलीले निर्मम ढंगले संविधानको कू गरेको आरोप उहाँले लगाउनुभयो ।
हुँदै नभएको अधिकार प्रयोग गरेँ भन्दैमा संसद विघटित नहुने भन्दै दाहालले प्रतिनिधि सभा जिवित नै रहेको जिकीर गर्नुभयो । अदालतले सदन सुचालु गर्न आदेश दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
ओली श्री ३ जंगबहादुर राणाको बाटोमा गएको भन्दै दाहालले ओलीलाई पराजित र आफ्नो पक्षलाई विजयीको संज्ञा पनि दिनुभयो ।
अर्को चुनाव आफूहरुले जित्ने दावी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘बाजी हामीले जितेका छौ ।’
प्रतिक्रिया दिनुहोस्