
ताप्लेजुङ, पुस १३ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रुप लिन थालेको छ ।
आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको आगलागी सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ ।
मन्दिर छेउमै आगो पुगे पनि सोही भागका रुखपात
हटाइएकाले मन्दिरमा आगलागी हुने सम्भावना भने नरहेको उहाँको भनाइ छ ।
मन्दिरको सुरक्षाका लागि स्थानीयवासी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
बिहीबार फुङलिङ नगरपालिका–११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट आगलागी शुरु भएको थियो ।
आगलागी क्षेत्र मुख्यगरी वन्यजन्तु रेडपाण्डाको बासस्थानका रुपमा लिने गरिन्छ ।
आगलागीले बहुमूल्य जडीबुटी तथा वनस्पतिका साथै विभिन्न प्रजातिका बोट बिरुवा नष्ट भएका छन् ।
आगलागीबाट वन्यजन्तु साथै उनीहरुको बासस्थानमा समेत असर पुगेको छ भने खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीयवासी समस्यामा परेका छन् ।
खानेपानीका लागि ल्याइएको झण्डै चार सय मिटर पाइप जलेर नष्ट भएको बताइएको छ ।
आगलागीको कारण अझै खुलेको छैन ।
यसैबीच मन्दिरसम्म आगो पुगेपछि सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट ढडेलो नियन्त्रण गर्न थालिएको छ ।
पाथीभरा क्षेत्रमा पानी नभएकाले हेलिकप्टरबाट पानी ओसारेर आगो नियन्त्रणमा ल्याउन लागिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्