
हरिविनोद अधिकारी
नेपाली माटोमा यो आधुनिक कालमा एकजना दूरद्रष्टा नेता पनि थिए भनेर आजको पुस्ताले सम्झने नाम भनेको नै बीपी कोइरालाको हो । चाहे २००३ सालमा राष्ट्रिय काँग्रेसको स्थापनामा होस् , चाहे २००६ सालमा नेपाली काँग्रेसको रुपमा संगठनलाई पुनर्गठन गर्दा होस् या २००७ सालको जनक्रान्ति होस् या, भद्र अवज्ञा आन्दोलन या २०१५ सालको आम निर्वाचनमा दुई तिहाईको बहुमत प्राप्त गर्दा होस् । या त्यसपछि राजाले त्यो सरकारलाई विघटन गरेर प्रजातन्त्रकै हत्या गर्दै उहाँहरुलाई बिनाकारण जेलमा राख्दा होस् । या प्रवासमा रहँदा या नेपाल फर्केर आउँदा होस् । सबैमा उहाँले कारण दिनु हुन्थ्यो र ती अकाट्य थिए । आज पनि राजनीतिक रुपमा ती नजिरका रुपमा लिइन्छ र त उहाँलाई अमर राजनीतिज्ञको रुपमा लिन थालिएको हो, दूरद्रष्टा राजनेताको रुपमा लिइएको हो । उहाँको देहावसान भएको पनि ३८ वर्ष भयो र पनि आजको नेपाली राजनीतिमा सबैभन्दा प्रजातन्त्रका पक्षमा सकारात्मक तरिकाले चर्चा गरिने नायक भनेको बीपी नै हुनुहुन्छ ।
राजनीतिका विभिन्न आयामहरुमा, मोडहरुमा र कालखण्डहरुमा बीपीका राजनीतिक रणनीति जे भए पनि खुला पुस्तकझैँ थिए । त्यहाँ कुनै राजनीतिक जालझेलका आयामहरु देखिँदैनन् आजको ऐनामा हेर्दा पनि । बीपीको राष्ट्रियता र प्रजातन्त्रको अभिन्न स्वरुपको व्याख्या भनेको नै पछिल्लो सिद्धान्तको रुपमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई लिइन्छ । राष्ट्रियताका प्रश्नमा सबै नेपालीसँग एकता र प्रजातन्त्रका प्रश्नमा कसैसँग कुनै सम्झौता हुँदैन, त्यसैले नेपाली परिप्रेक्ष्यमा राष्ट्रियता र प्रजातन्त्र एकअर्काका परिपूरक मान्नु भएको थियो ।
राष्ट्रिय एकताका लागि नै नेपालको राजनीतिक इतिहासमा पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा लिइन्छ पनि । हुनत यो दिन अर्थात् २०३३ साल पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेताहरु बीपी कोइराला र गणेशमानजीसहितका नेताहरु विनाशर्त भारत प्रवासबाट नेपालमा फर्कनु भएको थियो । नेपालको खस्कँदो राष्ट्रिय अस्तित्वलाई आधार बनाएर त्यस्तो निर्णय गरिएको थियो, त्यो निर्णय यति अचानक र संवेदनशील अवस्थामा भएको थियो कि यसलाई स्वीकार गर्न नेपाली काँग्रेसका थुप्रै अहिँसावादी नेताहरुलाई पनि लामो समय लागेको थियो । त्यो भर्भराउँदो पञ्चायती राजनीतिमा गरिएको एउटा जोखिमको खेल थियो र यसका प्रणेता नेपाली काँग्रेसका अध्यक्ष बीपी कोइराला स्वयम् नै हुनुहुन्थ्यो ।
त्यो नीतिको सोलोडोलो परिणाम आउञ्जेलसम्म बीपी रहनु त भएन तर उहाँको जुन भविष्यवाणीका आधारमा मेलमिलापको आधारभूमि खडाभएको मानिएको थियो, त्यसको मर्मलाई कुल्चिँदा नेपालको राजनीतिमा आमूल परिवर्तन अवश्यम्भावी भएको तथ्य आज अथ्र्याउन सकिन्छ । त्यसैको परिणामस्वरुप लोकतन्त्रको बहाली, पुनर्बहाली सम्भव भएको विश्लेषण गर्दा अत्युक्ति हुँदैन नेपाली राजनीतिमा । राजाको प्रजातन्त्रविरुद्धको अनवरत दृश्य अदृश्य लिँढे ढिपीले गणतन्त्र सम्भव भएको पनि माने अत्युक्ति हुने छैन ।
तत्कालीन अवस्थामा निर्विकल्प भनी व्याख्या गरिएको र राष्ट्रियताको पक्षमा भनी तत्कालीन अवस्थाका चिनिएका स्वनामधन्य तथाकथित प्रजातन्त्रवादी तथा वामपन्थीहरुबाट समेत स्वीकृत निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा सदैव असहमति जनाउँदै आउनु भएका र त्यसका विपक्षमा सशस्त्र आन्दोलनसमेत गर्नुभएका नेपाली काँग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिंहसहितका नेताहरुले आफ्नै देशमा शान्तिपूर्ण तरिकाले अहिँसात्मक आन्दोलन गर्न भनी लिएको नीतिलाई नै नेपालको राजनीतिमा राष्ट्रिय मेलमिलापको रुपमा मानिएको छ । किशुनजी र महेन्द्रनारायण निधिजीहरु त नेपालमा नै हुनुहुन्थ्यो अहिँसात्मक आन्दोलनका पक्षमा लाग्दै ।
यो पुसमा विभिन्न संयोग मिलेको छ नेपाली काँग्रेसका लागि । पुस १ गते काँग्रेसको सरकारसँगै संसद पनि विघटन गरेर प्रजातन्त्रको हत्या गरेका थिए राजा महेन्द्रले । त्यसको कटुस्मृति छ अझै । त्यसको दुष्प्रभावबाट मुलुक अझै उक्सिन सकेको छैन जवकि राजाले सुरु गरेको पन्चायत नै छैन र पनि । हालै यो पुस ५ गते पुस १ नै बिर्साउने गरी हालै हुँदाखाँदाको प्रतिनिधि सभा विघटित छ र संविधानको व्याख्याका लागि सर्वोच्च अदालतको संवैधानिक इजलास बसिरहेको अवस्था छ । दलहरु फैसला कुरिरहेका छन्, पुनस्र्थापना हुन्छ कि विघटनको निर्णय सदर हुन्छ । सदर या बदर जे हुन्छ, त्यसैमा आगामी दिनको राजनीति अगाडि बढ्ने छ । पुस ८ गते संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती अनि त्यसैगरी मुलुक जोगाउन बीपी पनि २०३३ साल पुस १६ मा नै आउनु भएको थियो भारत प्रवासबाट नेपाल ।
एउटा विरोधलाई कतैबाट पनि नसहने तर मुलुकमा शान्ति छ भन्ने शैलीको मुर्दा शान्तिले बास गरिरहेको बेलामा र राजाले गाउँ फर्क अभियानको नाममा पञ्चायतलाई स्टालिनशैलीमा एकदलीय स्वरुप दिई रहेको बेलामा बीपीले राष्ट्रिय मेलमिलापको नीति लिई नेपाल प्रवेश गर्ने राजनीतिक जोखिम उठाउनु भएको थियो । जोखिम यस अर्थमा कि मदमत्त पञ्चहरुले राजालाई यसरी देवत्वकरण गर्दै थिए कि राजाको विरुद्ध जो जान्छ, त्यो फाँसीको हकदार हुने अवस्था थियो किनभने बीपीकै कतिपय अनुयायीहरु फाँसीको सजायँ पर्खिरहेका थिए ।
अहिले संसद विघटन जस्तो असंवैधानिक तरिका अपनाउँदा छिमेकी मुलुकका सेना र नेताहरुको परेड चलेको छ हाम्रो देशमा । बीपीले आजभन्दा ३८ वर्ष पहिले नै नेपालको अवस्थालाई अनुभूत गर्नु भएको थियो । नेपाल भन्ने सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देश जब विदेशीहरुको खेल मैदान हुन थालेको बीपीलाई अनुभूत भयो, अनि बीपी र गणेशमानजीले नेपालभित्रै गएर राष्ट्रियता र प्रजातन्त्रलाई एउटै सिक्काका दुई पाटोका रुपमा अथ्र्याउने नयाँ राजनीतिक माहौल सृजना गर्ने अठोट गरेको पाइन्छ । राजनेताहरुले आफ्नो स्वनिर्वासन त्यागी स्वेच्छाले स्वदेश प्रवेश गर्दा पनि कहिलेकाहीँ त्यो निर्णय राजनीतिकरुपमा जनआन्दोलनमा रुपान्तरित हँदोरहेछ र त्यसले शान्त समुद्रमा ज्वारभाटा आएपछि देखिने आधारभूत राजनीतिको धार नै परिवर्तन गर्दोरहेछ भन्ने कुराको आधार त्यस दिनलाई लिन सकिन्छ । जुन दिनलाई बीपी कोइराला, गणेशमानजीले राष्ट्रभित्र नै मेलमिलाप गर्नका लागि राजनीतिको नयाँ रुप प्रस्तुत गर्नुभएको थियो ।
भारत, बेलायत, अमेरिका र चीनलाई रिझाउन उनीहरुका चासो सम्बोधन गर्न माहिर राजतन्त्रको घोषित तथा अघोषित नीति भए पनि पुस्ता पुस्ता राजा हुनका लागि नेपाल राज्य चाहिने अन्तर्य बुझ्नु भएका बीपीले बरु राष्ट्रियता जोगाउनका लागि राजासँग मिलेर भए पनि कमजोर राष्ट्रियतालाई सबल बनाउने रणनीति तय गरेको बुझ्न सकिन्छ तर प्रजातन्त्रबिनाको राष्ट्रियता खोक्रो नारामात्र साबित हुने भएकोले न संघर्ष, न समर्पणको नीतिलाई अवलम्बन गरिएको थियो भन्दा राष्ट्रिय मेलमिलापको सही विश्लेषण हुन सक्छ ।
प्रजातन्त्रका लागि समर्पण कोहीसँग होइन तर नेपालको हितका लागि जो सँग पनि सहकार्य गर्ने नीति थियो, प्रजातन्त्रका लागि कोहीसँग पनि सम्झौता नगरी प्रजातन्त्र पुनर्बहाली गराएरै छोड्ने नीति थियो बीपीको । प्रजातन्त्र बलियो हुनका लागि मुलुक एकढिक्का हुनु जरुरी थियो राष्ट्रियताको प्रश्नमा । आज कालापानी क्षेत्रको खुलासाले बीपीको त्यो शङ्कालाई बल पुगेको छ । तर उल्टै त्यो सचेत राजनेतालार्इँ भारतीय दलाल र अराष्ट्रिय तत्व भनेर कोकोहोलो गरिएको थियो तीन कक्षाको पुस्तकदेखि एम ए सम्मको पढाइमा । पञ्चायत भन्ने विषयको पढाइ हुन्थ्यो जसको एउटै लक्ष्य थियो बहुदलीय व्यवस्थाका विरुद्धमा सचेतना । बीपीलाई यो सबै थाहा थियो र पनि उहाँले राष्ट्र जोगाउन कसैले त जोखिम मोल्नै पर्ने हुनाले इतिहासले आफूलाई प्रजातन्त्र स्थापना, प्रवद्र्धन र पुनस्र्थापनाका लागि खटाएको ठानेर प्रजातन्त्र स्थापनाका लागि सबैसँग मेलमिलाप गर्ने नीति लिएको देखिन्छ ।
एकातिर नेपाल, संविधान सभाले बनाएको संविधान कार्यान्वयनको चरणमा छ भने अर्कोतिर संविधानवादप्रति पटक्कै आस्था नभएकाहरुको हातमा संविधानको कार्यान्वयनको जिम्मा छ, संविधानको गलत व्याख्या गरेर आफू सुहाउँदो कार्यान्वयन गर्ने होड छ । संविधानअनुसारको सरकार हुनाले विश्वास गरौँ—संविधानको मर्म विपरीत काम नहोला भन्दाभन्दै संसद विघटन गरेर असंवैधानिकि कामलाई संविधानका धाराहरुले प्रमाणित गरिँदैछ । अहिलेको प्रजातान्त्रिक संविधान पनि संविधान सभाको दोस्रो निर्वाचनले मात्र सम्भव भएको हो र संविधान बनाउनमा नेपाली काँग्रेसले नेतृत्व गरेको सरकार थियो र त्यसको नेतृत्व नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले गर्नुभएको थियो । यसो हेर्दा संविधानको कार्यान्वयन र प्रजातान्त्रिक प्रणाली सबै अचानोमा परेको बेला छ र आफूलाई प्रजातन्त्रको सम्वाहक मान्ने नेपाली काँग्रेस आफैँ आन्तरिक प्रजातन्त्रका लागि संघर्षरत छ । दलका विभिन्न गुट उपगुटहरुका बीचमा मेलमिलाप कुरेर स्वयं नेपाली काँग्रेस बसेको अवस्था छ ।
एकातिर सबै दलहरुसँगको आन्तरिक असैद्धान्तिक प्रतिस्पर्धा र आफैँमा अनुशासनहीनताको अन्तद्र्वन्द्वमा फसेको छ । जब जब नेपाली काँग्रेस कमजोर भएको छ, मुलुकमा प्रजातन्त्र खतरामा परेको देखिन्छ, उदाहरणका लागि यसैपटकको राजनीतिक प्रक्रियालाई लिन सकिन्छ ।
२०१५,२०४८,२०५६मा आफैँले बहुमतको सरकार बनाएको नेपाली काँग्रेससँग अहिले आफैँसँग सरकार बनाउने वा भत्काउने गरी बहुमत पनि थिएन । त्यतिमात्र होइन कि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनसमेत पुग्ने मत थिएन । संविधान कार्यान्वयनका लागि भरपर्दो मित्र शक्तिको आड भरोस गर्ने ठाउँ पनि देखिँदैन तथापि संसदीय व्यवस्थामा देखिने वा भित्र्याइने सम्पूर्ण नराम्रा व्यवहार र अभ्यासको अपजस भने उसैको टाउकोमा थोपरिन्छ जबकि संसदीय व्यवस्थाका पक्षमा काँग्रेस अडिग छ र अडिग रहिरहनु पनि जरुरी छ । यतिबेर अल्पमतका अवस्थामा पनि मुलुकले नेपाली काँग्रेस के गर्छ भनेर पर्खिरहेको छ ।
बीपी, गणेशमानजीसहितका थुप्रै नेताहरुलाई फाँसीसमेतको माग गरी नेपालका अदालतहरुमा मुद्दा चलाइएको अवस्थामा एकाएक स्वेच्छाले नेपाल प्रवेश गर्ने नीति तयार गरी सम्पूर्ण काँग्रेसहरु बाघको खोरमा मृग पसेजस्तै गरी राजाको प्रत्यक्ष शासनमा ग्वारग्वारती पस्दा नेपालको राजनीतिमा एउटा सशक्त तरङ्ग उत्पन्न भएको थियो र पञ्चायतलाई नै आफ्नो कब्जामा लिएर राजाभन्दा पनि ठूला राजावादी भएका घुसपैठवादीहरुका लागि त्यो तिलस्मी नीतिको रुपमा अथ्र्याइएको थियो ।
हजारौँ युवा नेताहरुको सक्षम नेतृत्व सदैव उहाँको प्रजातन्त्र प्राप्तिका पक्षमा थियो । नेपाली जनताको जनपक्षीय धारको नेतृत्व बीपीको नाममा मात्र विश्वभर विश्वसनीयरुपमा यसकारणले पनि परिचित थियो कि उहाँलाई राजाले २०१७ सालमा विनाकारण सैनिक बलमा अपदस्त गरेका थिए । त्यसपछि कुनै पनि नागरिकलाई कुनै पनि दलमा स्वेच्छाले लागेकोमा अपराधी घोषणा गरिएको थियो । एकदलीय र निरङ्कुश शासनको यो परिचय नै हो लोकतन्त्रका विरुद्धमा सदैव । आज पनि कतिपय देशमा यो सुन्न र देख्न पाइन्छ ।
राजनीति सरल रेखामा हिँड्दैन । समयले त्यसलाई परिमार्जन र परिष्कृत गरेकै हुन्छ । तर त्यसको माध्यम त नेता वा नेतृत्व नै हुन्छ । त्यस्तै समयले मागेको नेतृत्वका रुपमा बीपी र गणेशमानजीमार्फत मेलमिलाप गर्ने गरी शुरु भएको २०३३ साल पुस १६ पछि नेपालको राजनीतिले गुणात्मक परिवर्तन आत्मसात ग¥यो । त्यसको पछिल्लो क्रमागत उपलब्धि भनेको संविधानसभा हो र उपलब्धि भनेको नयाँ संविधानअनुसारको नयाँ नेपाल नै हो जहाँ लोकतन्त्र, गणतन्त्र, संघीय र समावेशी चरित्रको शासकीय स्वरुप छ ।
अब चर्चा गराँै, मेलमिलापको अहिलेको सन्दर्भमा । मुलुकमा झण्डै दुई तिहाईको प्रचण्ड बहुमतको सरकार थियो । र पनि सरकारको काम हेर्दा काम चलाउ जस्तै थियो । कतिपय प्रश्नमा सरकार अनिर्णय र अपरिपक्वताले मुलुक अनिर्णयको बन्दी थियो र त यो गैर संवैधानिक कदम उठाएको होला । दण्डविहीनता मौलाएको छ । भ्रष्टाचार सदाचार भएको छ । दलहरुका बीचमा आपसी र दलीय विवाद आन्तरिक रुपमा कायम छन् । नेपाली काँग्रेस आफैँमा क्षतविक्षत हुनेगरी विभाजित छ, नेकपा अहिले आफैँमा यति विभाजित छ कि कोही सत्तामा त कोही त्यो सरकारको विरोधमा सडकमा ओर्लिएका छन् सत्ताच्यूत गराउन । दलहरुका बीचमा नै मेलमिलाप आवश्यकता छ । त्यसैले दलहरु प्रति जनतामा नैराश्यता छ र पनि दलहरु नै लोकतन्त्रका वाहक र उपभोक्ता दुवै रहेको अवस्था छ । सबै दलहरु मिल्नु बाहेक कुनै अर्को विकल्प बाँकी छैन । बीपीले भन्नु भएको बेलामा जस्तो जटिल अवस्थामा मात्र देश छैन । मियो विनाको दाइँ भइरहेको अवस्था छ । दलहरुका बीचमा विश्वासको सङ्कट छ । कसैको पनि कसैसँग विश्वास छैन ।
त्यसैले आज अन्तरदलीय मेलमिलापको आवश्यकता देखिन्छ । सरकार सञ्चालनका लागि होस् कि सरकारका काम कार्वाहीलाई जनस्तरमा सेवा दिनका लागि होस्, वा तीन तहका सरकारका बीचमा संविधानबमोजिमको समन्वय कायम गर्नका लागि होस् । बीपीले भनेजस्तै अवस्था होस वा नहोस्, उहाँले कल्पना गर्नुभएको मेलमिलापको सैद्धान्तिक धरातलले मात्र आजको समस्या समाधान हुनसक्ने संभावना देखिन्छ । मुलुक झन् झन् दुरावस्थामा भासिएको छ । बीपीको एक इशारामा ज्यानको बाजी थाप्न चाहने ती युवाहरु अहिले नयाँ बहुराष्ट्रको परिभाषा खोजिरहेका छन् र मुलुकको अवस्था अझ जीर्ण र कमजोर हुँदा पनि मुलुकप्रति संवेदनशील हुन सकेका छैनन्, किन ? यसको उत्तर आजको नीति निर्माता र नेतृत्वले दिनै पर्छ । हिजो सदाचारका प्रतीक मानिएकाहरु अहिले दुराचारका प्रतीकका रुपमा समाजमा गह्नाएका छन् र अदालती कारबाहीमा अपराधी मानिएका पनि छन् ।
दिनको हिसाबले त त्यो दिवस पुस १६ गते नै मनाइन्छ, मनाइँदै आइएको पनि छ । तर मेलमिलापलाई, त्यो दिवसलाई काँग्रेसको मात्र सम्झने धृष्टता नगरौं । सवैले बीपीको त्यो संवेदनशीलतालाई अहिले पनि मनन गरौं । नेपालको राष्ट्रियता बलियो बनाउन हामी नेपालीमात्र लाग्नु पर्दछ । कोही हामीबीच हाम्रो प्रमुख शत्रु वा परम मित्र छैन । हामी एउटै डुँगामा सबार छौँ । प्वाल पा¥यौँ भने हाम्रो डँुगा डुब्ने छ । बाहिरकालाई रमिता हुनेछ । कथा हुनेछ । त्यसैले हामी सबै साझा प्रश्नमा एक भएर काम गर्न सक्यौँ र एक भएर समस्या समाधान गर्न सक्यौँ भने कसैले केही पनि बिगार्न सक्दैन । हामी आफ्ना अतीतका गल्तीबाट सिक्ने भन्दा डराउने गर्दछाँै ।
हामी गल्ती स्वीकार्ने हिम्मत गराँै र सबै मिलेर यो अती सुन्दर देशलाई अझ सुन्दर बनाऔँ । सबैको मेलमिलाप र सहकार्यबाट मात्र त्यो संभव छ । राष्ट्रिय मेलमिलाप दिवसको मनन गर्ने कुरा पनि यही हो । कसैलाई निषेध गरेर वा चौतर्फी घेरामा पारेरमात्र नेपालको हित हुने छैन । लोकतन्त्रको विपक्षमा नसोचाँै । लोकतन्त्रका विकल्पमा लोकतन्त्रमात्र हुन्छ भन्ने सहमति तयार गरौँ ।
बीपीको मेलमिलापलाई प्रशंसा गरेर र व्याख्या गरेर मात्र हुँदैन, त्यसलाई आत्मसात गरेर अभ्यास गरे पनि प्रजातन्त्र बलियो हुन्छ अनि प्रजातन्त्रका विरोधीहरुको तेजोबध हुन्छ । आखिर त्यसले नेपाल र नेपालको प्रजातन्त्रलाई नै सुदृढ बनाउँछ ।
बीपीको पार्टीभित्र कुन सैद्धान्तिक विमर्शका लागि गम्भीर बहस भएको देखिँदैन तर पनि सधैँ विवाद । कस्तो विवाद, किन विवाद ? कसका लागि विवाद ? आफैँ राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्ने, अनि आफैँ कहिल्यै मिल्न नसक्ने ? को प्रधानमन्त्री हुँदैमा के हुँदो रहेछ र ? को पार्टी सभापति हुँदैमा के हुँदो रहेछ र ? सिद्धान्त बलियो हुँदा एक्लो बृहस्पतिको बोलीले पनि त परिवर्तन सम्भव भयो त ? अनि दल बलियो हुँदा त प्रजातन्त्र बलियो हुँदो रहेछ । वामपन्थीको प्रचण्ड बहुमतको सरकार बन्दा पनि दलमा देखिने विवादले प्रजातन्त्रवादीहरुलाई निराश नपारोस् जुन अहिले विद्यमान छ ।
बीपीको राष्ट्रिय मेलमिलापको पछिल्लो व्याख्या यस्तो हुनसक्छ—प्रजातन्त्रवादीहरुसँग बामपन्थी नझस्क, वामपन्थीहरु नेपाली काँग्रेससँग नतर्स । एउटै डुङ्गामा सवार यात्रीहरु डुङ्गा डुब्दा कोही पनि बच्दैनौँ किनभने अहिलेको व्यवस्था तिमीहरुको संघर्षको सकारात्मक परिणाम र उपज हो, तिमीहरु चक्रब्यूहमा फसेका छौ, चक्रब्यूह तोड्ने साहस गर जसरी बीपीले फाँसीको दण्डसमेतलाई वास्ता नगरी मुलुकको चिन्ता गर्नुभयो र मुलुकलाई नयाँ गन्तव्यमा प्रवेश गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्