
काठमाडौं, भदौं १ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा दरबार देख्दा आफ्नो मन कुँडिएको टिप्पणी गरेका छन् ।
माओवादी सशस्त्र हिंसामा लाग्दा राज्य रजौटा र दरबारहरुको अस्तित्व नै ध्वस्त गर्ने अभियानको नेतृत्व गरेका तिनै भट्टराईको मन अहिले भने दरबारको अवस्था देख्दा कुँडिएको हो ।
सरकारका उपप्रधानमन्त्री एवं आफ्नो दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेतलाई लिएर गोरखा दरबार पुगेका उनले गोरखा भूकम्पका कारण जीर्ण र भग्नावशेषमा परिणत भएको गोरखा दरबारको पुनर्निर्माणको अवस्थाप्रति टीठ व्यक्त गरेका हुन् ।
गृह जिल्ला पुगेको भट्टराईले गोरखा दरबार पुनर्निर्माणको अवलोकनपछि आफ्नो फेसबुक पेजमा, ‘सत्रौं शताब्दीमा राम शाहले बनाएको र अठारौं शताब्दीमा पृथ्वीनारायण शाह जन्मेको/हुर्केको गोरखा दरबारको पुनर्निर्माण बर्षौदेखि अलपत्र देख्दा कसको मन नकुँडिएला ?’ भन्दै प्रश्न गरेका छन् ।
‘स्थानीय जौवारीका श्रेष्ठ थरका ठेकेदार लामो समयदेखि गायव भएको तर सत्ताधारी पार्टी/नेताको आड़ पाएका ती ठूला माछालाई छोए जागीर/पदोन्नति धरापमा पर्ने डरले पुरातत्व विभागका हाकिमसमेत तैं चूप मैं चूप रहेको’ उनले उल्लेख गरेका छन् ।
उनले सत्ताधारीहरुले गोरखाको प्रमुख पर्यटकक आकर्षण केन्द्रलाई सत्यानाश गरेको आरोप पनि लगाएका छन् ।
समाजवादी पार्टीको नेतासमेत रहेका भट्टराईले, ‘गोरखाको प्रमुख पर्यटक आकर्षणको केन्द्रलाई सत्यानाश गरेर अझै समृद्धिको डिंग हाँक्ने कमरेडहरूलाई कति कुरीकुरी भन्ने’ भन्दै रोष प्रकट गरेका छन् ।
‘घुष् लिन्या र दिन्या दुवै जनताका शत्रु हुन्’ भन्ने पथ्वीनारायणले ब्रह्माण्डको कुनै कुनाबाट यो तमाशा हेरिरहेका भए के भनिरहेका होलान् ?’ पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्