१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री ओलीले आफ्ना विरोधीलाई एक-एक गरि सिध्याउन खोजे : नेपाल


0
Shares

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई एक-एक गरेर सिध्याउन खोजेको आरोप लगाउनु भएको छ ।

जनता समाजवादी पार्टी नेपालले मंगलबार काठमाडौंमा गरेको अन्तर्रक्रियामा उहाँले प्रधानमन्त्री ओली प्रजातान्त्रिक प्रबृतिको नभएकाले आफ्ना विरोधीलाई सिध्याउन चाहेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्ट्राचार मौलाउने भूमिका खेलेकाले पार्टीभित्रैबाट विरोध भएको बताउनुभयो ।

आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको उहाँको भनाइ थियो ।

संसद् विघटन संविधानविपरित रहेकाले अदातलले सच्याउनेमा आफुहरु आशावादी रहेको अध्यक्ष नेपालको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाँड सुनेर आफूलाई पोल्ने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुर्नस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कुनै कानूनी तथा संवैधानिक आधारबिना नै प्रतिनिधि सभा विघटन गरिएकाले अदालतले संविधानको भावनाअनुसार व्याख्या गरेर पुनः पुर्नस्थापना गर्ने उहाँको भनाइ थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारको असंवैधानिक कदमप्रति राजनीतिक शक्तिको ध्रुविकरण आवश्यक रहेको बताउनुभयो ।

गैर संवैधानिक हिसाबले चालेको कदमले संसदको विघटन हुन नसक्ने भन्दै उहाँले संसदको काम कारबाहीको जिम्मेवारी सभामुखको काँधमा आएको बताउनुभयो ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) असफल भएको टिप्पणी गर्नुभयो ।