
काठमाडौं, पुस २२ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको शपथ समारोहमा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर उपस्थित नहुने हुनुभएको छ ।
पूर्व राष्ट्रपति जर्ज बुश र उनकी पत्नी लाउरा बुश भने जनवरी २० मा हुने पद हस्तान्तरण समारोहमा उपस्थित हुने उहाँको सचिवलायले जनाएको छ । रिपब्लिकन पार्टीबाट अमेरिकाको ४३ औं राष्ट्रपति बन्नुभएका बुशले परिणाममा अग्रता लिँदासाथ बाइडनले बधाई समेत दिनुभएको थियो ।
बुश दम्पत्ति यसअघि बराक ओबामा र डोनाल्ड ट्रम्पको पद हस्तान्तरण कार्यक्रममा पनि उपस्थित हुनुभएको थियो ।
अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टर भने उपस्थित हुन नसक्ने उहाँको सचिवालयले जनाएको छ । कार्टर र उहाँकी पत्नी रोस्लान कार्टर ओबामा र ट्रम्पको पद हस्तान्तरण कार्यक्रममा भने उपस्थित हुनुभएको थियो ।

पद हस्तान्तरण कार्यक्रममा सशरीर उपस्थित हुन नसके पनि राष्ट्रपति निर्वाचित बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको सम्पूर्ण सफलताको कामनासहितको शुभकामना पत्र पठाइने उहाँको प्रवक्ता डीआना कोन्जिलिओले जानकारी दिनुभएको छ ।
९६ वर्षीय कार्टर अमेरिकाको सबैभन्दा ज्येष्ठ जिवित राष्ट्रपति हुनुहुन्छ । उहाँ मष्तिस्क र कलेजोको क्यान्सरबाट पीडित पनि हुनुहुन्छ ।
अमेरिकामा गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनबाट वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै पूर्वउपराष्ट्रपति एवं डेमोक्रेट उम्मेदवार जो बाइडन निर्वाचित हुनुभएको छ ।
तर आफ्नो हार स्वीकार्न नसक्नुभएका ट्रम्पले निर्वाचन परिणाम बदर गराउन गरेका अनेकन तिकडम विफल भएका छन् । उहाँ पद हस्तान्तरण कार्यक्रममा समेत उपस्थित नहुनेसम्मका खबरहरु आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्