१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केपी ओलीलाई इमान्दार तानाशाह भन्दै बाबुराम भट्टराईले लगाए तीन आरोप


0
Shares

baburam bhattarai

काठमाडौं, पुस २२ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई इमान्दार तानाशाह, परिवर्तन विरोधी र वाह्य शक्तिको मतियार जस्ता तीन गम्भीर आरोप लगाउनुभएको छ ।

नेकपा दाहाल–नेपाल समूहले बानेश्वरमा गरेको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईले ओली परिवर्तन विरोधी भएको आरोप लगाउनुभएको हो ।

कार्यक्रममा भट्टराईले भन्नुभयो, ‘जेलबाट निस्किएर आएपछि उहाँ अग्रगमनको विरोधी हो । यो कुरा उहाँले लुकाउनुभएको छैन, त्यसकारण उहाँ इमान्दार तानाशाह हो । केपी ओली परिवर्तनको विरोधी मान्छे हो । तपाईंहरुले कसरी बोकेर ल्याउनुभयो, अचम्म लाग्छ ।’

ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिँदै पार्टीभित्रको क्यान्सरलाई चाँडो फाल्न भट्टराईको सुझाव थियो, ‘केपी ओली राजनीतिक क्यान्सर हो । राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ ।’

ओली वाह्य शक्तिको मतियार भएको भन्दै उहाँले भन्नुभयो, ‘नियोजित ढंगले संविधान उल्ट्याएर देशमा अस्थिरता ल्याउने बाह्य शक्तिको केपी ओली मतियार हो ।’

ओलीलाई पार्टीबाट निस्काशन नगरेकामा आशंका गर्दै भट्टराईले हामीहरुलाई बीचमै अलपत्र पार्ने त होइन भन्ने शंका काँग्रेस र आफ्नो दललाई भएको पनि बताउनुभयो ।

अदालतसँग आश गर्न सकिने भए पनि भर पर्न नसकिने भन्दै भट्टराईले जनतालाई विश्वास गरेर प्रतिगमन विरुद्ध लड्नुपर्ने बताउनुभयो ।

अहिले राष्ट्रियता र संविधान दुबै खतरामा परेको निष्कर्ष निकाल्दै संघर्षका लागि जनतासँग अपील गर्न उहाँको सबै दलसँग आग्रह थियो ।

प्रतिनिधि सभा अझै पनि जिवित रहेको तर्क गर्दै उहाँले दुई तिहाइ सरकार चलाउन नसक्नेले चुनाव गराउनेमा विश्वास गर्न नसकिने बताउनुभयो ।