१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रम्पलाई अपदस्थ गरेर शक्ति हातमा लिन उपराष्ट्रपति पेन्ससमक्ष महान्यायाधिवक्ताको अपील


0
Shares

us trump supporters attack in parliament building

काठमाडौं, पुस २३ । अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकले हतियारसहित पसेर आतंक मच्चाएपछि राजधानी वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

हिंसात्मक झडपमा प्रहरीको गोली लागी चार जना मारिएका छन् ।

संसदले नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावको नतिजा अनुमोदन र प्रमाणीकरण रोक्न ट्रम्पको आह्वानमा हतियारधारी समर्थकले प्रदर्शन र आक्रमण गरेका हुन् ।

तीन घण्टा संसद भवन नियन्त्रणमा लिएका उनीहरुले संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा तोडफोड गरे ।

यो पनि पढ्नुहोस्,

आफ्ना समर्थकहरुले संसद भवनमा हिंसात्मक प्रदर्शन मच्चाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अप्ठ्यारोमा पर्नुभएको छ । क्यापिटल भवनमा आक्रमण गरेपछि रुष्ट बनेका ट्रम्पका सहयोगी र कर्मचारीले धमाधम राजिनामा दिन थालेका छन् ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ट्रम्पका समर्थकबाट भएको गतिविधिलाई राज्यविरुद्ध विद्रोहको संज्ञा दिनुभएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाले संसद भवनमा ट्रम्पकै योजना र उक्साहटमा आक्रमण गरिएको भन्दै निन्दा गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्,

अर्का पूर्वराष्ट्रपति जर्ज डब्लु बुशले पनि घटनाको निन्दा गर्नुभएको छ । उपराष्ट्रपति माइक पेन्सले संसद भवनमा आक्रमण गर्नेहरु पराजित भएको भन्दै अमेरिकी संविधान र कानुनी सर्वोच्चताको पक्षमा जोड दिनुभएको छ ।

यो पनि पढ्नुहोस्,

उता, वासिङ्टन डिसीका महान्यायाधिवक्ता कार्ल रेसिनले संविधानको २५ औं संशोधन ब्युताएर राष्ट्रपति ट्रम्पलाई अपदस्थ गर्न उपराष्ट्रपति पेन्ससँग अपिल गर्नुभएको छ । उपराष्ट्रपतिले तत्काल क्याबिनेट बैठक बोलाएर राष्ट्रपतिलाई हटाउनुपर्ने तथा आफूले सत्ता समाल्नुपर्ने उहाँको सुझाव छ ।

अमेरिकी संविधानले राष्ट्रपति असक्षम देखिए संसद वा क्याबिनेटको बहुमत पुर्‍याएर शक्ति आफ्नो हातमा लिने अधिकार उपराष्ट्रपतिलाई दिएको छ । सोही व्यवस्था ब्युताउँन उहाँले सुझाव दिनुभएको हो ।

यसैबीच सिनेटका बहुमत नेता मिच म्याक्कोनेलले पनि संसद भवनमाथि भएको आक्रमणको निन्दा गर्दै अमेरिकी कानुनी सर्वोच्चतालाई कसैले पनि चुनौती दिन नहुने बताउनुभएको छ ।
आक्रमणपछि अवरुद्ध संसदको बैठक शुरु भएलगत्तै सम्बोधन गर्दै म्याक्कोनेलले संविधानले दिएको अधिकार र जिम्मेवारी पूरा गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्,

यसैगरी सिनेटमा अल्पमतका नेता चक शुमरले यस दिनलाई अमेरिकी इतिहासमा कालो दिनको संज्ञा दिनुभएको छ ।

उता, राजधानीको सुरक्षा व्यवस्थामा सघाउन न्यूयोर्कका गभर्नर एन्ड्रिउ क्युमोले एक हजार सुरक्षाकर्मी पठाउनुभएको छ ।

शक्ति हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण रुपले पूरा गर्न नेशनल गार्डकै आग्रह अनुसार न्यूयोर्क नेशनल गार्डका एक हजार सुरक्षाकर्मी परिचालन गरिएको गभर्नर क्युमोले जानकारी दिनुभयो । यो टोली कम्तिमा दुई हप्ता राजधानी वासिङ्टनमा खटिनेछ ।