
कैलाली, पुस २३ । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीमा दाहाल-नेपाल र ओली समूहले एकअर्का समूहका पदाधिकारीलाई कारबाहीको सिफारिस गरेका छन ।
नेकपा औपचारिक विभाजन भइनसक्दा दुई पक्षका छुट्टाछुट्टै प्रदेश समिति बैठकले एकअर्को पक्षका प्रदेश समितिका पदाधिकारीलाई कारबाही गर्न केन्द्रलाई सिफारिस गरेका हुन् ।
धनगढीमा भएको ओली समूहको प्रदेश कमिटी बैठकले प्रदेश इन्चार्ज भीम रावल, सचिव नेपबहादुर चौधरीलाई जिम्मेवारीबाट हटाउन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।
पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ हिनामिना गरेकोले इन्चार्ज रावल र सचिव चौधरीलाई जिम्मेवारीबाट हटाउन केन्द्रीय कमिटीमा सिफारिस गरिएको थापाले बताउनुभयो ।
ओली समूहले प्रदेश समिति विस्तार समेत गरेको छ ।
उक्त समूहका प्रदेश संयोजकसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले १ सय ८३ सदस्यीय प्रदेश कमिटीलाई विस्तार गरेर ५ सय ५१ सदस्यीय बनाइएको जानकारी दिनुभयो ।
यसअघि नेकपा दाहाल–नेपाल समूहले नेकपाका प्रदेश अध्यक्ष कर्ण थापालाई पनि कारवाही गर्न सिफारिस गरेको थियो भने नेकपा कैलालीका अध्यक्ष रतन थापा सहितका ८ जना नेतामाथि समेत कारवाही गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्