८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दाहाल र नेपालले जयशंकरलाई भेटेनन्, देउवा र भट्टराई पुगे होटलमै


0
Shares

काठमाडौं, भदौं ५ । भारतीय विदेश मन्त्री एस जयशंकरले आफु बसेकै होटलमा भेटका लागि बोलाएपछि दुई पूर्व प्रधानमन्त्रीले भेट अस्वीकार गरेका छन् । अर्का दुई पूर्व प्रधानमन्त्रीले भने होटलमै पुगेर भेटवार्ता गरे ।

कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न शिष्टाचारले नमिल्ने भन्दै पूर्व प्रधामन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जयशंकरसँग भेट नगरेका हुन् । अर्का दुई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र बाबुराम भट्टराईले भने होटलमै पुगेर विदेश मन्त्री जयशंकरसँग भेट गरेका छन् ।

बुधबार नेपाल आएका जयशंकरले आफु बसेको स्थान बत्तिसपुतलीस्थित होटल द्वारिकाजमै भेटका लागि निम्ता पठाएकामा दाहाल र नेपालले भेट अस्वीकार गरेका हुन् । दाहाललाई बिहान ८ बजे र त्यसपछि नेपाललाई आफू बसेकै होटलमा भेट्न बोलाइएको थियो ।

शिष्टाचारका कारण भेट गर्न नगएको बताइए पनि नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने कार्यव्यस्तताका कारण दुबै नेताले भेट गर्न नसकेको प्रतिक्रिया दिए ।

पूर्वप्रधानमन्त्रीद्वय देउवा र डा. भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी बसेकै होटल द्वारिकाजमै पुगेका थिए ।

यसअघि विदेशमन्त्री नियुक्त भएलगत्तै जयशंकरलाई बधाई दिएकामा पनि प्रोटोकल बाहिरको काम गरिएको भन्दै कांग्रेस सभापति देउवाको आलोचना भएको थियो ।

जयशंकरले उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरे ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने हिजै भेटेका थिए ।

जयशंकरले बुधबार साँझ नै राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको टोलीलाई भेटेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने विहीबार विहान भेटेका हुन् ।

२०७२ सालमा नेपालले संविधान जारी गर्ने समयमा विदेशसचिवका रुपमा नेपाल आएका जयशंकरले संविधान जारी गर्न केही ढिलाई गर्न सुझाएका थिए । तर उनको सुझावविपरित नेपालले संविधान जारी गरेपछि मधेश आन्दोलनका क्रममा नाकाबन्दी लगाउन उनको मूख्य भमिका रहेको बुझाई नेपाली जनतामा परेको छ ।