१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसले प्रष्ट दिशा र नेतृत्व दिनुपर्छ–रामचन्द्र पौडेल


0
Shares

congress ramchandra poudel

काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको समयमा नेपाली कांग्रेसले प्रष्ट दिशा र नेतृत्व दिनुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय विशेषांक विमोचन कार्यक्रममा नेता पौडेलले कांग्रेस ढुलमुले बन्ने होइन, अहिलेको संकटमा दृढतापूर्वक नेतृत्व गर्नसक्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री केपी ओलीले संविधान मिल्काइसकेको भन्दै पौडेलले थोरै लोभमा कांग्रेस फस्न नहुने एवं आँट र साहसका साथ अहिलेको मुद्दामाको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

नेता पौडेलले भन्नुभयो, ‘चुनाव र त्यसमा जितिने केही सीट मात्रै महत्वपूर्ण होइन । संविधान नै च्यातिएको बेला त्यो नबनाइकन गरिने चुनावको अर्थ छैन ।’

पौडेलले भन्नुभयो, ‘अदालतप्रति सम्मान छ । तर अदालतले पनि हामीलाई न्याय दिनपर्छ ।’

प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएकोमा आपत्ति जनाउँदै नेता पौडेलले मुलुक अब अफगानिस्तानको बाटोमा लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले सूर्यप्रसाद उपाध्यायप्रति नेतृत्वले न्याय गर्न सक्नुपर्ने भन्दै यसअघिको गल्ती सच्याएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

पञ्चायतकालीन कठीन समयमा प्रजातन्त्र र कांग्रेसको अस्तित्वको दीयो बाल्ने काम सूर्यप्रसादबाट भएकाले कांग्रेस नेतृत्व उहाँप्रति कृतघ्न होइन, कृतज्ञ बन्नसक्नुपर्छ, केसीले भन्नुभयो ।

नेता केसीले मुलुकलाई आजको आकार दिने पृथ्वीनारायण शाहप्रति देशले सम्मान गर्न सक्नुपर्ने भन्दै पृथ्वी जयन्ती मनाउन राज्यलाई दबाब दिनका लागि पार्टी सभापति देउवासँग आग्रह गर्नुभयो ।

तर नेता केसीको आग्रहमा जवाफ फर्काउँदै पार्टी सभापति देउवाले राजा आउ, देश बनाउ भनिरहेका बेला पृथ्वीनारायणलाई माला लगाउन जान सकिन्न भन्नुभयो ।