१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीको आधिकारिकता आफुहरुलाई दिन निर्वाचन आयोगलाई नेपालको आग्रह


0
Shares

काठमाडौं, पुस २७ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बहुमत केन्द्रीय कमिटी सदस्य आफुतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत् चल्ने जानकारी दिएको बताउनुभयो ।

अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचन सम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरिएको पनि बताउनुभयो ।

नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप समेत लगाउनुभयो ।

काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्ध काठमार्डाैंमा आयोजित नागरिक भेलामा बोल्दै उहाँले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताउनुभएको हो ।

नेता नेपालले ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै उहाँले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेसिता र धर्मनिरपेक्षता प्रति कुनै अपनत्व नभएको उहाँको भनाइ छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताउनुभयो ।

उहाँले देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको पनि बताउनुभयो ।