
काठमाडौं, पुस २९ । सरकारले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सहयोगका लागि दातृ निकायसँग अपील गरेकै समयमा रुसले नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको जनाएको छ ।
रुसले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको जनाएको हो ।
रुसले नेपालका लागि आवश्यक दुई करोड ५० लाख (अर्थात् २५ मिलियन) डोज कोभिड–१९ को खोप उपलब्ध गराउन तयार रहेको जनाएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टर्सले रुसी विदेश मन्त्रालयलाई उधृत गर्दै लेखेको खबरमा रुस नेपाललाई २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख छ ।

केही महिनायता रसियाले नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताएको थियो भने काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिरहेको छ ।
यता, नेपाल सरकारले भने कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै दाताहरु गुहारेको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवं सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन आह्वान गरेको हो ।
खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्