१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


९ वर्षमा पनि बन्न सकेन कन्द्रा नदीमा पुल


0
Shares

बिराज रोस्यारा (इमेज)
कैलाली, पुस २९ । कैलालीको भजनी नगरपालिकास्थित कन्द्रा नदीमा निर्माण सुरु भएको ९ वर्षसम्म पनि पुल नबन्दा स्थानीयलाई समस्या भएको छ ।

लामो समयदेखि पुल निर्माणमा अलमल हुँदा नागरिक आधारभूत आवश्यकताबाट समेत बञ्चित भएका छन् ।

कैलालीको भजनीस्थित कान्द्रा खोलामा पुल नहँुदा हरेक वर्ष बाढीले बगाएर मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

चार स्पान र पाँच पिलर भएको पुलको नौ वर्ष बित्दा समेत एउटा स्पान र चार पिलर मात्र निर्माण भएको छ ।

पुल नभएका कारण यहाँका नागरिकलाई नदी तर्न निकै समस्या छ ।

नदी तर्न डुंगाको सहायता लिनुपर्ने स्थानीयको बाध्यता छ ।

बालबालिकालाई विद्यालय आउजाउ गर्न अझ समस्या हुने गरेको छ ।

बिरामी हुँदासमेत नदीकै कारण अस्पताल जान नसकेर मृत्यु समेत हुने गरेको स्थानीय मोती साउदले बताउनुहुन्छ ।

हुलाकी राजमार्ग अन्तर्गत कन्द्रा नदीमा बन्न लागेको पुल निर्माण वि.स.२०६८ बाट सुरु भएको हो ।

नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ ।

भजनी नगरपालिकाको वडा नम्बर ५ र ७ का स्थानीयलाई पुल तरेर आउजाउ गर्ने सपना अधुरै छ ।

साढे दुई वर्षमा पुलको निर्माण सम्पन्न गर्ने गरी बिरुवा लामा साल्पा शेर्पा कम्पनीले ठेक्का लिएपनि ९ वर्ष बित्दा समेत काम सम्पन्न भएको छैन ।

लामो समयदेखि पुल निर्माणकै क्रममा रहेपनि सरकारी निकायले अनुगमन नगर्दा आसपासका बासिन्दालाई समस्या भएको स्थानीय मानबहादुर साउदको गुनासो गर्नुहुन्छ ।

पटक–पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनुपर्ने स्थानीयले माग गरेका छन् ।

पुल निर्माणका नाममा फाइदा लिने निर्माण व्यवसायीलाई सरकारले कारवाही गर्नु र सम्झौता रद्द गरी अर्को कम्पनीलाई दिएर काम सक्नुपर्ने स्थानीयको माग छ ।

पुल नबन्दा स्थानीयलाई निकै कष्ट भएकाले विभिन्न निकायमा निर्माणका लागि पहल गरेको भजनि नगरपालिकाकी उप–प्रमुख छाया देवकोटा बताउनुहुन्छ ।

बिरुवा लामा साल्पा शेर्पा कम्पनीले आफ्नो तर्फबाट कुनै लापरवाही नभएको प्रतिक्रिया दिएको छ ।

डिजाइन परिवर्तन र साझेदारले काम नगर्दा ढिलाइ भएपनि अहिले काम जारी रहेको निर्माण कम्पनीको दावी छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार चार करोड ४२ लाख लागतमा पुल निर्माणको म्याद थप गर्दै २०७७ माघसम्म पुर्‍याइएको छ ।

भिडियो हेर्नुहोस्