
प्रकाश नेपाल (इमेज)
इलाम, पुस २९ । ७२ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेपनि लामो विद्युत प्रसारण लाइनका कारण गुणस्तरीय विद्युत उपभोग गर्न इलामका उपभोक्ताले पाएका छैनन् ।
११ हजार भोल्टेजको प्रसारण लाइन लामो र फिडरको संख्या कम हुँदा उपभोक्ताका घरमा गुणस्तरीय विद्युत नपुगेको हो ।
अत्यधिक लामो विद्युत प्रसारण लाइन भएपछि उपभोक्ताले नियमित विद्युत उपभोग गर्न नपाउनुका साथै घरमा बल्ने विद्युतको गुणस्तर पनि राम्रो छैन ।
इलामको ७२ प्रतिशत जनसंख्याको घरमा विद्युत पुगेपनि ११ हजार भोल्टेजको प्रसारण लाइन अत्यधिक लामो र फिडरको संख्या कम हुँदा समस्या भएको हो ।
प्रसारण लाइन लामो हुँदा उपभोक्ताका घरमा गुणस्तरीय विद्युत नपुगेको र नियमित सेवा दिन नसकिएको प्राधिकरणका इञ्जिनियर सरोज कुमार चौधरी बताउनु हुन्छ ।
सव–स्टेशनदेखि ३० किलोमिटर भित्र मात्रै विद्युत सेवा राम्रो हुने भए पनि इलाममा ११ हजार भोल्टेजको वितरण लाइन एक सय ८४ किलोमिटर लामो छ ।
जसका कारण प्रसारण लाइनमा फल्ट धेरै हुने, मर्मत गर्नु पर्दा करेन्ट प्रभाव काट्नु पर्ने भएकाले घण्टौसम्म सयौँ उपभोक्ताको घर अँध्यारो हुन्छ ।
लामो प्रसारण लाइन छुट्टयाउन प्राधिकरणले सव–स्टेशनमा फिडर विस्तार गरेपनि बजेट अभाव हुँदा त्यो पर्याप्त नभएको प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतको भनाइ छ ।
प्राधिकरणले गत आर्थिक वर्षमा मंगलबारे र माईजोगमाई फिडर विस्तार गरेको थियो ।
फिक्कल, तिल्केनी र गोदक सवस्टेशनका ७ वटा फिडर रहेको इलाममा उपभोक्ताको हैरानी हटाउन सन्दकपुर र चिसापानी पञ्चमीमा सवस्टेशन बनाउनुपर्ने प्राधिकरणको प्रस्ताव छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्