
काठमाडौं, माघ १ । दोस्रो पटक महाअभियोगको तलवार लट्किएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लत्रिनुभएको छ ।
यस पटक अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभ्समा ट्रम्पविरुद्ध ल्याइएको महाभियोग प्रस्तावमा विपक्षी डेमोक्र्याट सांसद मात्र नभई आफ्नै दल रिपब्लिकनका सांसदलेसमेत हस्ताक्षर गरेपछि ट्रम्पको बोली फेरिएको हो ।
तल्लो सदनले आफूविरुद्ध महाभियोग प्रस्ताव पारित गरेलगत्तै राष्ट्रपति ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, ‘हिंसा र तोडफोडका लागि हाम्रो देशमा कुनै स्थान छैन न त हाम्रो आन्दोलनमा हिंसाका लागि कुनै स्थान छ ।’
ट्वीटरले खातै बन्द गरिदिएपछि आफ्नो भिडियो सन्देश पनि ह्वाइट हाउसको ट्वीटर अकाउन्टबाट अपलोड गर्दै ट्रम्पले अघिल्लो हप्ता राजधानी वासिङ्टनमा भएको हिंसाको निन्दा गर्नुभएको हो ।
ट्रम्पको सन्देशमा भनिएको छ, ‘मेरा जो पनि सच्चा समर्थकले राजनीतिक हिंसाको वकालत गर्न सक्दैन । मेरा कोही सच्चा समर्थकले हाम्रो कानून र हाम्रो महान अमेरिकाको झण्डाको अपमान गर्न सक्दैन । यदि तपाईंमध्ये कसैले यस्तो काम गरिरहनुभएको छ भने तपाईं हाम्रो आन्दोलनको मद्दत गरिरहनुभएको छैन । तपाईं त्यसमाथि हमला गरिरहनुभएको छ र तपाईं हाम्रो देशमा हमला गरिरहनुभएको छ । हामी यसलाई सहन सक्दैनौं ।’
अमेरिकाको इतिहासमै एकै कार्यकालमा दुई पटक महाभियोग प्रस्ताव ब्यहोर्नुभएका ट्रम्पलाई अहिले महाभियोग पारित भएर निस्कन परिनहाले पनि आर्टिकल २५ को प्रस्तावले ह्वाइट हाउसबाट बाहिरिसक्दा पनि जुनसुकै बेला खतरा रहिहने बताइएको छ ।
१३ महिनापछि दोस्रो पटक महाभियोग खेपिरहनुभएका ट्रम्पलाई यसअघि सन् २०१९ को डिसेम्बरमा संसदको तल्लो सदनले महाभियोग पारित गरे पनि माथिल्लो सदनमा संख्याभावका कारण जोगिनुभएको थियो ।
तर यस पटक तल्लो सदनमा दश जना रिपब्लिकन सांसदले पनि संसदमा गराएको आक्रमणप्रति रुष्ट बन्दै आफ्नै दलका राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको प्रस्तावमा समर्थन गरेका छन् ।
यस पटक पनि महाभियोग नै पारित नभएपनि आइन्दा राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी रोक लगाउने सम्भावना भने रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सिनेटमा रिपब्लिकन नेता मिच मेक्कानेलले राष्ट्रपतिको कार्यालय छोड्नुअघि अन्तिम निर्णय हुन नसक्ने बताउनुभएको छ ।
यस पटकको निर्वाचनमा पराजीत भएर पनि हार अस्वीकार गरिरहनुभएका ट्रम्पले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पनि उम्मेदवार बन्ने बताइसक्नु भएको छ ।
यस्तोमा आगामी कार्यकालका लागि उम्मेदवार बन्न नदिनेसम्मको कार्वाहीमा भने माथिल्लो सदनका रिपब्लिकन सिनेटरहरुले साथ दिनसक्ने आंकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्