७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


औपचारिक निर्णयबिना नै काठमाडौंका अधिकांश विद्यालयहरु सञ्चालनमा


0
Shares

दिपेन्द्र अधिकारी (इमेज)
काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिका भित्रका विद्यालय सञ्चालन गर्न औपचारिक निर्णय गर्न शिक्षा विभागको आइतबार हुने भनिएको बैठक बस्न सकेन ।

महानगरपालिकाले औपचारिक निर्णय नगर्दा विद्यालय पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् यद्यपि आइतबारबाट महानगरका अधिकांश विद्यालय सञ्चालनमा आएका छन् ।

१० महिनापछि विद्यालय खुल्दा पढाई प्रभावकारी रुपमा हुने आशमा काठमाडौं महानगरका विद्यार्थी ।

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएसँगै देशभरका अधिकांश ठाउँ र काठमाडौं उपत्यकाका केही स्थानीय तहमा पनि स्वास्थ्य सावधानी अपनाएर विद्यालयहरु पनि सञ्चालनमा आए पनि तीन लाखभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको काठमाडांै महानगरमा कसरी विद्यालय सञ्चालनमा ल्याउन सकिन्छ भन्ने निर्णय गर्न सकेको छैन ।

विद्यालय सञ्चालनको लागि सम्बन्धित निकायसँग छलफल गरेको महानगरले घना बस्ती र कोरोना भाइरस संक्रमितको उच्च संख्याका कारण ठोस निर्णय लिन सकेन ।

महानगरले औपचारिक निर्णय नगरे पनि विद्यालय सञ्चालनको लागि सकारात्मक संकेत दिएपछि पाठ्यभार पूरा गर्न विद्यालयहरु सञ्चालनमा आएका हुन् ।

अभिभावकको सल्लाह र सहमतिमा महानगर भित्रका केही सामुदायिक विद्यालयहरुले गत भदौ महिनादेखि नै भौतिक रुपमा कक्षा सञ्चालन गरेका थिए ।

महानगरको निर्णय नआए पनि निजि विद्यालयहरु संस्थागत निर्णय गर्दै सबै तहका कक्षा आंशिक रुपमा सञ्चालनमा ल्याएका छन् ।

वैकल्पिक माध्यमबाट पूरा हुन नसकेको सिकाइ उपलब्धि हाशिल हुनेमा शिक्षकहरु आशावादी छन् ।

अहिले पूर्व आधारभूत कक्षा तथा तल्ला कक्षामा आंशिक रुपमा कक्षा सञ्चालन तथा माथिल्ला कक्षाहरुमा पूर्ण रुपमा सञ्चालनको अभ्यास गरिएको छ ।

विद्यालयहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएको छ भने विद्यार्थीहरुमा स्वास्थ्य समस्या देखिएमा प्राथमिक उपचार गरि तत्काल अभिभावकको समन्वयमा अस्पताल लैजाने तयारी समेत गरेका छन् ।

वैकल्पिक माध्यमबाट सिकाइ उपलब्धि कम हुँदा शैक्षिक सत्रमा कोर्ष पूरा गर्नुपर्ने चुनौती छ ।

जसका लागि भौतिक रुपमा कक्षा र वैकल्पिक माध्यमबाट समानान्तर रुपमा पढाइ गर्ने तयारीमा विद्यालयहरु छन् ।

भिडियो हेर्नुहोस्

भिडियो : राममान डंगोल