
अक्कल कुँवर र लक्ष्मणमान डंगोल र दिलिप पोखरेल (इमेज)
काठमाडौं, माघ ५ । गत पुष ५ गते प्रतिनिधिसभा विघटन भएसंगै राजनीतिक रुपले विभाजन भएको नेकपा आधिकारिकताको लडाईंमा छ ।
नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल–नेपाल दुवै समुहले आफुहरु नै आधिकारिक भएको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आधिकारिकताका लागि दुवै पक्षले दिएको निवेदन र आवश्यक विवरणमाथि आयोगले छानविन गरिएको जनाएको छ ।
दुवै पक्षका छुट्टाछुट्टै विवरण र प्रतिनिधि सभा विघटन भएको अवस्थामा दल विभाजनसम्बन्धी देखिएको कानुनी जटिलताले आयोग समस्यामा परेको छ ।
नेकपाका दुवै पक्षले आधिकारिकता दावी गर्दै आ–आफ्नो समूहले बोलाएको केन्द्रीय समितिको बैठक र त्यसले गरेका निर्णयहरु वैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिए ।
तर आयोगले दुवै पक्षलाई एकै व्यहोराको पत्र पठाएर उनीहरुले पठाएका कागजात र विवरणहरुकै आधारमा दलमा गरिएको हेरफेर अद्यावधिक गर्न नसकिने जनायो र थप स्पष्टतासहितको जवाफ पेस गर्न ७ दिनको समय दियो ।
आयोगको निर्देशन अनुसार दुवै पक्षले गत बुधबार आयोगलाई छुट्टाछुट्टै जवाफपत्र दिएर आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसार विवरण दल दर्ता किताबमा अद्यावधिक गर्न दबाब दिएका छन् ।
जवाफपत्रमा आफ्नै पक्ष वैधानिक भएको दावी दुवै समुहबाट आउँदा विवरण अद्यावधिक गरेर अघि बढ्न आयोगलाई समस्या परेको छ ।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ३३ मा राजनीतिक दल विभानका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्था छ ।
तर, अहिले प्रतिनिधि सभा विघटन भएको अवस्थामा नेकपा आधिकारिकताको लागि कानुनी जटिलता रहेको कानुनविद्को जिकिर छ ।
तर कतिपय कानुनविद्ले भने पार्टीको संसदीय दल नभएको अवस्थामा पनि केन्द्रीय कमिटीको बहुमतको आधारमा विवाद निरुपण गर्न आयोगलाई कानुनी समस्या नरहेको जिकिर गरेका छन् ।
नेकपाको दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार पार्टीमा भएको हेरफेरको विवरण अद्यावधिक गर्न आयोगमाथि दबाब दिइरहेका छन् ।
तर, आयोगमा नेकपा एकीकरणको समयमा कायम रहेका ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी, पार्टीको विधानलगायत अन्य विवरण मात्र दर्ता छ ।
आयोगले दुवै पक्षबाट आएको जवाफमाथि आवश्यक छानविन भइरहेको जनाएको छ ।
निर्वाचन आयोग श्रोतका अनुसार एकीकरणपछि नेकपाले बुझाएको विधान र पार्टीको अन्य विवरण अनुसार नै विवाद निरुपण गर्ने आयोगको तयारी छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्