
काठमाडौं, माघ ५ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
राष्ट्रिय टिमका खेलाडीहरुको बाहुल्य रहेको बागमतीले दोस्रो जित हासिल गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई एक सय ८० रनको फराकिलो अन्तरले पराजित गर्यो ।
कीर्तिपुर मैदानमा भएको खेलमा बागमतीले दिएको तीन सय रनको चुनौती पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा अलआउट हुँदै एक सय १९ रनमात्र बनाउन सक्यो ।
६ खेलाडीले रनको खातासमेत खोल्न नसकेको इनिङ्समा नारायण जोशीले २९ बलमा अविजित रहँदै ४४ रन बनाए ।
रामनरेश गिरीले ४ तथा नन्दन यादवले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ९ विकेट गुमाएर दुई सय ९९ रन बनाएको थियो ।
पृथु बास्कोटाले ८४, अदिल खानले ६३ तथा कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोडे ।
नारायण जोशीले ३ विकेट लिए ।
यो जितसँगै समूह बीमा बागमतीले २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल पुलिस क्लब र सुदूरपश्चिम अंकविहीन छन् ।
यता समूह ए को खेलमा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ ।
मूलपानी क्रिकेट मैदानमा प्रदेश नम्बर–१ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दै गण्डकीले महत्वपूर्ण २ अंक बटुलेको हो ।
१ सय ३ रनको चुनौती गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर कठिनपूर्वक पूरा गर्यो ।
अर्जुन कुमाल र दिपक डुम्रेले समान ३५–३५ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७ ओभर ४ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो ।
कप्तान सिद्धान्त लोहनीले २४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए ।
यस्तै सुवास भण्डारीले ४ तथा विपिन खत्रीले २ विकेट लिए ।
समूह ए मा त्रिभुवन आर्मी क्लब २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ भने सशस्त्र प्रहरीको एपीएफ २ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्