
काठमाडौं, माघ ६ । कृषिमा वैदेशिक लगानीको पक्ष र विपक्षमा बहस चलिरहंदा सरोकारवालाले भने प्रत्यक्ष वैदेशिक लगानीको विरोध नभई गृहकार्य गरी व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् ।
विगतको तुलनामा नेपालको कृषिमा उत्पादकत्व बढ्दै गएको भन्दै वैदेशिक लगानीले मुलुकको दुई तिहाई नागरिकको पेशा जोखिममा पर्नेमा भने उनीहरुले चिन्ता व्यक्त गरे ।
मंगलबार कृषिमा विदेशी लगानी खुल्ला किन विषयक बहस कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्त श्रीराम धिमिरेले नेपालको कुल ग्राह्र्रस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषिमा वैदेशिक लगानीको विकल्प नभएको बताउनुभयो ।
उहाँले कुन क्षेत्रमा कसरी लगानी ल्याउने भनेर निर्देशिका बनाउनै बाँकी रहेकाले छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
घिमिरेले विशेष शर्त राखेर लगानी नल्याई नहुने अवस्था रहेको जिकिर गर्नुभयो ।
प्रवक्त घिमिरेले व्यवसायिक मासिकतामा परिवर्तन गर्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।
नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले कृषि क्षेत्रमा वैदेशिक लगानी ठूलो भुल हुने तर्क गर्नुभयो ।
वैदेशिक लगानीलार्य निहित स्वार्थको खेल भन्दै उहांले यसबाट साना किसान, उद्योगी व्यवसायी दास हुने उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले बैदेशिक लगानीले नेपाली उद्यमशीलता नरहने भन्दै नेपाली किसानलाई पनि प्रतिस्पर्धी बनाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अन्य सहभागिहरुले कृषिमा विदेशी लगानी खुल्ला गर्ने निर्णयले कृषिको प्राथमिक बजार र नेपाली मौलिकपन हराउने भन्दै यसबाट नेपाली कृषि संस्कृतिमाथि घात हुने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्